२८ वर्षमा २५ प्रधानमन्त्री

फेला परेनन् पूरै कार्यकाल सत्ता चलाउन भाग्यमानी

Sher bahadur deuba

काठमाडौं । ०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनायता अहिलेसम्म देशले २५ जना प्रधानमन्त्री पाएको छ। ती प्रधानमन्त्रीमध्ये कसैले पनि पूरै कार्यकाल पाँच वर्ष काम गर्न पाएनन् ।

नेपालको ४०औं प्रधानमन्त्रीको रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार निर्वाचित भएका छन्। उनी ०४६ सालपछि चौथो पटक प्रधानमन्त्री बन्ने शौभाग्यशाली नेता हुन्। संसदबाट ३८८ मतसहित देउवा प्रधानमन्त्री चयन भएका हुन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १० महिना मात्र प्रधानमन्त्रीको कुर्सीमा रहे।

उनले जेठ १० गते संसद्बाट नभई पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरे। नेपालमा प्रधानमन्त्रीको पद सन् १७९९ मा सुरु भएको मानिएको छ। मूलकाजी दामोदर पाण्डेले राजा रणबहादुर शाहको अनुपस्थितिमा मूलकाजी भई सशक्त एकलौटी शासन चलाएका थिए। दामोदरको मृत्युपश्चात् भीमसेन थापा मुख्तियार पदमा नियुक्त भएका थिए ।

उनी पछिका सबै प्रधानमन्त्रीलाई मुख्तियार भनियो। प्राइम मिनिस्टर (प्रधानमन्त्री) भनी सम्बोधन गरिएका तथा पहिलो पटक प्रधानमन्त्रीको श्रीपेच लगाउने माथवरसिंह थापा हुन्। उनलाई नै नेपालको आधिकारिक प्रधानमन्त्री मानिने इतिहासविद् दिनेशराज पन्त बताउँछन् । ०४६ पछि प्रधानमन्त्री हुनेको लामै फेहरिस्त छ। लोकन्द्रबहादुर चन्द ०४६ चैत २४ देखि ०४७ वैशाख ६ सम्म प्रधानमन्त्री बने। उनलाई राजा वीरेन्द्र वीरविक्रम शाहले नियुक्त गरेका थिए। त्यसपछि अन्तरिम प्रधानमन्त्रीका रूपमा कांग्रेसका कृष्णप्रसाद भट्टराई ०४७ देखि ०४८ सम्म जम्मा एक वर्ष मात्र कुर्सीमा रहे। त्यसपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला निर्वाचित प्रधानमन्त्रीको रूपमा ०४८ देखि ०५१ सम्म तीन वर्ष कुर्सीमा आसीन भए ।

०५१ देखि ०५२ सालसम्म एमालेका मनमोहन अधिकारी प्रधानमन्त्री बने। कांग्रेसका शेरबहादुर देउवा ०५२ देखि ०५३ सालसम्म प्रधानमन्त्री बने। त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर चन्द ०५३ सालदेखि ०५४ सम्म २०९ दिन मात्रै प्रधानमन्त्री बने। राप्रपाका सूर्यबहादुर थापा ०५४ देखि ०५५ सालसम्म १९० दिन प्रधानमन्त्री बने। कांग्रेसका गिरिजाप्रसाद कोइराला ०५५ देखि ०५६ सालसम्म ४११ दिन प्रधानमन्त्री बने। त्यसपछि कांग्रेसकै कृष्णप्रसाद भट्टराई ०५६ सालमा २९६ दिन प्रधानमन्त्री बने ।

कांग्रेसका गिरिजाप्रसाद ०५६ देखि ०५८ सालसम्म ४९१ दिन प्रधानमन्त्री बने। कांग्रेसका शेरबहादुर देउवा ०५८ देखि ०५९ सालसम्म ३३५ दिन प्रधानमन्त्री बने। उनले संसद् विघटनको घोषणा गरेसँगै तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर ०५९ देखि ०६० सालसम्म २३७ दिन प्रधानमन्त्री बन्न पुगे। उनलाई पनि अपदस्थ गरी राजा ज्ञानेन्द्रले सूर्यबहादुरलाई प्रधानमन्त्री बनाए। उनी ०६० देखि ०६१ सालसम्म २६४ दिन प्रधानमन्त्री बने। त्यसपछि कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा ०६१ देखि ०६२ सालसम्म जम्मा २४३ दिन प्रधानमन्त्री बने ।

उनलाई निर्वाचन गराउन नसकेको आरोपमा अक्षम प्रधानमन्त्रीको दर्जा दिँदै राजा ज्ञानेन्द्रबाटै बर्खास्त गरियो। त्यसपछि शासनसत्ता राजा ज्ञानेन्द्र शाहले आफ्नै हातमा लिए। ०६२ देखि ०६३ सालसम्म जम्मा ४४८ दिन शाहले शासनसत्ता सम्हाले । देशमा जनआन्दोलनमार्फत ०५६ सालको प्रतिनिधिसभा पुनःस्थापना भएपछि ०६३ देखि ०६५ सालसम्म गिरिजाप्रसाद ७६४ दिन प्रधानमन्त्री बने। त्यसपछि देशमा संविधानसभा निर्वाचन भयो र संविधानसभा निर्वाचनबाट पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल बने। दाहाल ०६५ देखि ०६६ सालसम्म २८० दिनसम्म प्रधामन्त्री बने। त्यसपछि एमालेका माधवकुमार नेपाल ०६६ देखि ०६७ सालसम्म ६२२ दिन प्रधानमन्त्री बने। ०६७ देखि ०६८ सालसम्म २०४ दिन एमालेका झलनाथ खनाल प्रधानमन्त्री बने। त्यस्तै, ०६८ देखि ०६९ सालसम्म ५६३ दिन एकीकृत नेकपा माओवादीका डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने। भट्टराई पहिलो संविधानसभा विघटन गर्ने प्रधानमन्त्री हुन्। सर्वोच्च अदालतका बहालवाला न्यायाधीशलाई पनि देशले प्रधानमन्त्रीको रुपमा स्वीकार गर्‍यो ।

तत्कालीन प्रधानन्यायाधिश खिलराज रेग्मी ०६९ देखि ०७० सालसम्म प्रधानमन्त्री बने। ०७० सालमा देशमा दोस्रो पटक संविधानसभा निर्वाचन भयो। निर्वाचनबाट प्रमुख पार्टीको रूपमा कांग्रेस संसदमा देखा पर्‍यो। कांग्रेस सभापति सुशील कोइराला ०७० सालमा प्रधानमन्त्री बने। ०७२ साल १९ साउनमा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने। उनीपछि ०७३ साल साउन २० मा पुष्पकमल दाहाल प्रधानमन्त्री बने। ०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि लोकेन्द्रबहादुर चन्द तीन पटक, शेरबहादुर देउवा चार पटक, कृष्णप्रसाद भट्टराई दुई पटक, गिरिजाप्रसाद कोइराला चार पटक र सूर्यबहादुर थापा दुई पटक प्रधानमन्त्री बने। राजनीतिशास्त्रका प्राध्यापक डा। लोकराज बराल विगतमा एउटै पार्टीको पूर्ण बहुमत हुँदा पनि पाँच वर्षसम्म सरकार टिक्न नसक्नुमा आफ्नै पार्टीको असहयोग र असहिष्णु व्यवहार मुख्य जिम्मेवार रहेको बताउँछन्।
साभार : अन्नपूर्ण पोष्ट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...