आँखाको क्यान्सरबाट ग्रसित मन्सरा लुहार बचाऔँ अभियान सुरु

Kalikot

काठमाडौँ । नेपाली युवाको अन्तर्राष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान सुरु गरेको छ ।

गत सालदेखि नै कालीकोटको दुर्गम भेगका बासिन्दाको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो ।

कालीकोट रास्कोट नगरपालिका(७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त समस्याले घाउको रूप लिएर बढ्दै गएपछि अहिले आँखो छोपिएको र घाउ दिनदिन बढ्दै र कुहिँदै गएकोे छ ।

मान्मा अस्पतालमा कार्यरत अहेब दीर्घबहादुर नेपालीले उनको उपचार जिल्लामा सम्भव नभएकाले काठमाडौँ अथवा अन्य स्थानमा लानुपर्ने बाध्यता देखापरेको छ । मिसन बेटर नेपालले मनसरालाई काठमाडौँ ल्याउने तयारी गरेको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिए ।

क्यान्सर पीडित मन्सरा लुहार
सो रोग रेटिनो ब्लास्टोमा अल्सरेटिभ ट्युमर भनिने क्यान्सरजस्तो रोग भएको त्रिपुरेश्वर आँखा अस्पतालका नेत्र चिकित्सकले जनाएका छन् । चिकित्सकले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मनसरालाई भर्ना गर्न सल्लाह दिएअनुसार बेटर नेपालले भर्नाका लागि पहल गरिरहेको संयोजक रवीन खतिवडाले जानकारी दिए ।

मनसराको उपचारका लागि अर्थ सङ्कलन पनि भइरहेकाले इच्छुक दातालाई मनसरा लुहारकै नाममा सानिमा बैंक मान्मा शाखामा खोलिएको खाता नं ०४४०००००१०० मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरिएको छ ।

 

प्रतिकृया दिनुहोस