काँग्रेसलाई उम्मेदवार छान्न सकस

दशरथचन्द नगरपालिकामा मेयरमा १४ जनाको प्रतिष्पर्धा

Baitadi map

बैतडी । दोस्रो चरणको चुनावी सरगर्मी बढेसँगै बैतडी कांग्रेसलाई उम्मेदवार छान्न सकस परेको छ । जिल्लाबाट नामावली टुंगो लगाउन नसक्दा जिल्लाले केन्द्रलाई नै उम्मेदवार छान्ने अधिकार दिएको छ ।

नेताहरु पदका लागि धेरै आकांक्षी देखिएपछि कार्यकर्ता भने निराश भएका छन् । अन्य पार्टीले उम्मेदवारको छनोट गरी प्रचारप्रसारमा तल्लिन भएका बेला काँग्रेसले उम्मेदवार नै छनोट गर्न नसक्दा कार्यकर्ता निराश बनेका हुन् ।

स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ । बैतडीका १० वटामध्ये ७ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकांंक्षी धेरै भएपछि उम्मेदवारको टुंंगो लगाउन केन्द्रीय समितिमा नामावली पठाएको हो ।

नेपाली काँग्रेस बैतडीले सुर्नया, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाबाहेक अरु कुनै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । ८४ वटा वडामा भने सबै उम्मेदवारको टुंगो गाइसकेको छ ।

मेयरमा १४ जनाको प्रतिष्पर्धा
सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा मेयरका लागि मात्रै १४ जना आकांक्षी देखिएका छन् ।

दशरथचन्द नगरपालिकामा प्रमुख पदमा जिल्ला सभापति नरेन्द्रसिंह थापा, हर्कबहादुर चन्द, शिवराज भट्ट, प्रताप ठगुन्ना, जनकराज भट्ट, पुरनचन्द्र लेखक, भीमबहादुर चन्द, देवु ठगुन्ना, यज्ञराज पन्त, लालबहादुर चन्द, दौलतसिंह थापा, टेकराज जोशी र भीमदत्त पाण्डेयको नाम सिफारिस गरिएको छ ।

उपप्रमुखमा मीना चन्द, तुलसी ठगुन्ना र हरिप्रिया भट्टको नाम सिफारिस गरिएको छ । यसअघि उम्मेदवारमा सहमति भइसकेको भनिएको डिलाशैनी गाउँपालिकामा पनि अन्तिममा आएर विवाद भएपछि अध्यक्ष पदका लागि कर्णबहादुर राना र धनबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।

केन्द्रमा सिफारिस गरिएका नाममध्ये एकदुई दिनमै उम्मेदवारको लाग्ने नेपाली काँग्रेस, बैतडीले जनाएको छ ।

प्रतिकृया दिनुहोस