मापासे चालक माथि प्रहरीको कडा निगरानी

Mapse

काठमाडौं । काठमाडौंमा दैनिक एक सयदेखि डेढ सय सवारी चालक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ पर्ने गरेको महानगरीय ट्राफिक कार्यालयले जनाएको छ । हिमगाथासँग कुरा गर्दै कार्यालयका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले मादक पदार्थ सेवन गर्ने र ट्राफिक नियमविपरित सवारी चलाउनेलाई कडाइका साथ कारवाही भइरहेको बताए ।

पछिल्लो समय उपत्यकामा गुणस्तरहीन सडक र सवारी चापका कारण ट्राफिक नियमको उल्लंघन बढिरहेको कार्कीले बताए । उनले रुटबिना सवारी चलाउनेलाई पनि ५ सय रुपैयाँ जरिवाना र कक्षा लिनुपर्ने प्रावधान रहेको जानकारी दिए । मादक पदार्थ सेवन गरी सवारी चलाउने र अन्य ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई छुट्टाछुट्टै कक्षा सञ्चालन गर्ने गरेको उनले बताए ।

कार्यालयका अनुसार, कतिपय चालक पाँच पटकभन्दा बढी कारवाहीमा परेका छन् । कार्यालयले एक दिनमा ६ वटा कक्षा सञ्चालन गर्ने गरेको छ । एक घण्टाको कक्षामा ७० देखि ८० जना राख्ने गरिएको छ । प्रहरीले पक्राउ परेकाहरूको व्यवहार र अवस्था हेरेर फिर्ता गर्ने गरेको छ । सवार गर्दा हुने मानवीय क्षति, परिवारमा हुने झगडा ट्राफिक नियम पालना नगर्दा आफूलगायत अरूमा पर्ने असरलाई न्युनीकरण गर्ने लगायतका विषमा कक्षा दिने गरिन्छ । कक्षालाई अझै प्रभावकारी बनाउन श्रव्यदृश्य माध्यम पनि अपनाउने गरिएको छ ।

ट्राफिक नियम उल्लंघन गरेकाहरूलाई कक्षा दिँदा सवारी दुर्घटनामा कमी आएको महाशाखाको दाबी छ । यसलाई अझ प्रभावकारी बनाउन, विद्यालयस्तरदेखि नै चेतनामूलक कार्यक्रम संचालन गरिएको उपरिक्षक कार्कीले बताए । प्रहरीको पहलले मात्र नपुग्ने भएकाले व्यक्ति, परिवार तथा समुदाय नै लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस