जलजला क्षेत्रको गुरुयोजना शारदाले बनाउने

Forest

रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए ।

जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाको आयोजनामा मङ्गलबार रोल्पाको लिबाङमा सम्पन्न जिल्लास्तरीय सरोकारवालाबीच राखिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै  स्तो जानकारी दिए ।

सामाजिक आर्थिक र भौतिक किसिमले सन्तुलित समृद्ध समाजको निर्माण गर्ने परिकल्पनाका साथ सल्यानमा सञ्चालित संस्थाले आगामी असार १४ गतेसम्म गुरुयोजना निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

संस्थागत रुपमा २०५७ सालदेखि सञ्चालनमा रहेको संस्थाले हाल सक्रियरुपमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । वलीका अनुसार मङ्गलबार रोल्पाको लिबाङमा डिएफसिसी बैठक सम्पन्न भएसँगै जेठ १७ देखि २० गतेसम्म अध्ययन क्षेत्र भ्रमण, जेठ ३० गतेसम्म मस्यौदा प्रतिवेदन सङ्कलन र मस्यौदा प्रतिवेदनमा प्राप्त सुझाव समेटिएको अन्तिम गुरुयोजना असार १४ गतेसम्म तयार गरिने लक्ष्य लिइएको छ ।

यस्तै, कार्यक्रममा संस्थाका सल्लाहकार डा गोविन्द कोइरालाले उन्नत कृषि, पशुपालन, जिल्लाको कच्चापदार्थमा आधारित उद्योग पर्यटन, उद्योग प्रवद्र्धन, उच्च मूल्यका जडीबुटी आदिको निर्यातमूलक व्यापार आदि आय बढाउने सम्भावित क्षेत्र भएको बताए

कृषितर्फ उन्नत अन्न र नगदेबाली, पशुतर्फ बोयर बाख्रा, मसला बालीतर्फ टिमुर, अदुवा र यिनैमा आधारित प्रशोधन उद्योग, पर्यटन विकासतर्फ वन वातावरण सुधार, ऐतिहासिकस्थल सुधार, होमस्टे व्यवस्था, सामाजिक पुँजीमा सुधार, प्रचार प्रसार, उपयुक्त स्थलमा भ्यू टावर, सुविधायुक्त र स्वच्छ कटेज आवास, गाइड सुविधा, सञ्चार सुविधा, ट्रेल रुट विकास, केमिकलमुक्त खाद्यवस्तु उत्पादन आदि सम्भावित विकासका पाइला भएको छ ।

रोल्पाका जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेले जलजला क्षेत्र रोल्पाको गरिमा भएको हुँदा यस्को संरक्षण र संवद्र्धनका लागि निर्णय भएको र प्रक्रियागत ढङ्गबाट दीर्घकालीन गुरुयोजना निर्माणका लागि सल्यानको गैरसरकारी संस्था शारदा छनौट भएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी सुशील वैद्यले जलजला क्षेत्रको दीर्घकालीन गुरुयोजना निर्माणका लागि सम्बन्धित ठाउँमा पुगेर बृहत् छलफल तथा बहस गर्नुपर्ने भएको बताए ।

प्रतिकृया दिनुहोस