मतदाता शिक्षा सिक्न उत्सुक डडेल्धुराका वृद्धवृद्धा

Matdan

डडेल्धुरा, । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।

मतपत्र झन्झटिलो भएकाले मतदाता शिक्षा लिनेमा बढीजसो वृद्धवृद्धा नै देखिएका छन् । युवायुवतीहरू विभिन्न सञ्चारमाध्यमबाट पनि मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी लिन सक्ने भएकाले पनि वृद्धवृद्धा प्रत्यक्ष रूपमा मतदाता स्वयंसेवकबाट नै मतदाता शिक्षा सिकिरहेका स्वयंसेवकहरूको भनाइ रहेको छ ।

मतदान गर्नु धर्म भएकाले मत बदर नजाओस् भन्नका लागि मतदान गर्ने तरिकाका बारेमा जानकारी लिइरहेको डडेल्धुरा अमरगढी–७ ऐरी गाउँकी १०० वर्षीया मनु ऐरले बताइन् । सोही गाउँकी ७० वर्ष पार गरिसकेकी धनादेवी ऐरी मतदान गर्नका लागि खुसी हुँदै मतदाता स्वयंसेवकबाट मतदान गर्ने तरिकाका बारेमा छलफल गर्ने गरेको बताउछिन् ।

गाउँमा वृद्धवृद्धा एकठाउँमा भेला भएर मतदाता स्वंमसेवकबाट मतदान प्रक्रियाका बारेमा सिक्ने गरेका छन् । ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा ६० वर्षभन्दा माथिका १२ हजार ४२४ वृद्धवृद्धा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले जनाएको छ । चुनाव नजिकिँदै जाँदा मतदात पनि मतदानका लागि हौसिएका छन् । राजनीतिक दलहरू पनि घरदैलो अभियानमा व्यस्त रहेका छन् ।

प्रतिकृया दिनुहोस