आजदेखि अनिश्चितकालीन यातयात बन्द, यात्रुहरु परे मारमा

धनकुटा । यातयात व्यवसायीको आन्दोलनका कारण आज धनकुटा लगायत देशभरी नै सवारी साधनहरु सञ्चालनमा आएका छैनन् ।
४ वटा यातयात व्यवसायी महासंघ र ४ वटा मजदूर संगठनले गरेको आन्दोलनका कारण आज यातयात बन्द भएको छ । त्यसको प्रभाव आज धनकुटामा पनि परेको छ । धनकुटा हुँदै कुनै पनि सवारी साधनहरु चलेका छैनन् ।
सबै संगठनहरुले आजदेखि सबै सवारी साधनहरुलाई आफ्नै घर वा ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने जनाएपछि आज देशभर नै यातयातका कुनै पनि साधन चलेका छैनन् । जसका कारण आज धनकुटा सुनसान बनेको छ । आज अचानक यातयातका साधन बन्द हुँदा यात्रुहरु मारमा परेका छन् ।
कोटेश्वर-जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ । ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र बन्द गर्दै हिँडेका व्यवसायीबीच धकेलाधकेल भएको छ ।
अहिले प्रतिक्षालयमा यात्रु अलपत्र भएका छन् । बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थी पनि अलपत्र परेका छन्। स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा रहेका छन् ।
गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो । गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन् । व्यवसायीले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने भन्दै निर्णय फिर्ता लिन यातायात ठप्प पारेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसी बताउँछन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरिएको छ ।
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको गण्डकी प्रदेश सरकारले देशको संविधानको धारा ५७ को उपधारा ६ उपधार ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित हुने गरी राईडर शेयरिङ्को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका पुराना १० वर्षे दुई पाङ्ग्रे सवारी साधन, १५ वर्ष पुराना निजी ४ पाङ्गे सवारी साधनलाई भाडाका सवारी सधान सरह प्रयोग गर्ने गरी वैशाख ३१ गते गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी जेठ १ गते सञ्चालन गर्ने गरी नियमावली बनाइ कार्यान्वयन तर्फअगाडि बढेको हुँदा गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयहरुमा माग पत्रसहित पटक–पटक ध्यानाकर्षण पत्र बुझाइ यथाशिघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको हुँदा यातायात व्यवसायी, मजदुरका समस्या राखी सात बुँदे माग पत्र नेपाल सरकारसमक्ष पेश गरेका छौँ ।’
यसैगरी ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ’ समितिले गरेको छ ।
प्रतिकृया दिनुहोस