राजावादीहरुको आन्दोलन उग्र हुने देखिएपछि दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । राजावादीहरुको आन्दोलन उग्र हुने देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
राजावादीहरू सडक प्रदर्शनमा सक्रिय भएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो । पछिल्लो समय राजावादीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमार्फत भनेका छन्, 'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति सुरु आन्दोलन भोलि पनि जारी रहनेछ। भोलि जेठ १७ गते दरबार मार्ग, महेन्द्र शालिकबाट प्रदर्शन सुरु हुनेछ । आजको उत्साहजनक सहभागिताको निम्ति आभार। भोलि अझ बढी व्यापक सहभागिताको निम्ति अपिल गर्दछु ।'
केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी परिसरमा गएका थिए । जेठ १९ गते पनि नारायणहिटी दरबार जाने तयारी रहेको बताइएको छ । त्यसअघि प्रशसनले नारायणहिटी संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
राजावादीहरुले भोलि शनिबार दरबारमार्गमा प्रदर्शन गर्ने भनेपछि प्रशासनले भोलिदेखि नै लागु हुनेगरी त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा जेठ १७ गतेदेखि लागु हुने गरि असार २४ गतेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको बताइएको छ ।
सुचनामा दरवारमार्ग, केशरमहल, जयनेपाल हल क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन र नारा जुलुस धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस