लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ ।

नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको इतिहास छ ।

नेपालको मन्त्रिपरिषद बैठकले २०७५ साल मंसिर २ गते नेपालमा सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटै प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै निकायहरुले विभिन्न कार्यक्रम आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएका छन् ।

यो १६ दिनको अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस पनि पर्ने भएकोले नेपालमा सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गरी मनाउने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा लैङ्गिक हिंसाको रूपमा महिलामाथि हुने घरेलु हिंसा, यौनजन्य हिंसा, आर्थिक तथा राजनीतिक हिंसा मुख्य रहेका छन् ।

अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद महसुस गर्न नपरोस् भनी शुभकामना दिएका छन् ।

यो अभियानलाई सबैको संयुक्त प्रयासबाट अगाडि बढाउन जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘एउटा मेसिनलाई यन्त्र ठान्ने दास युग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।’

यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्रीको छ । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक संघसंस्था वा समाज सबै ठाउँबाट संकल्प गरौं कि अब हामी लैंगिक हिंसा, भेदभाव हुन दिनेछैनौं । यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...