कम्तीमा २८ महिना डिल्लीबजार कारागारमा बित्नेछ दीपक मनाङेको समय

Deepak manange karagar chalan

काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलबार काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई डिल्लीबजार कारागार पठाएको हो ।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । मनाङेले यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने प्रहरीको अनुमान छ । तर, जिल्ला अदालतले भने विस्तृत कैदी पुर्जीपछि दिने गरी अहिले कारागार पठाएको बताएको छ ।

अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले भने, ‘सर्वोच्च अदालतबाट मिसिल प्राप्त भइसकेको छैन । पहिला भुक्तान भएको कटाएर बाँकी बेरूजु कैद असुल गर्नुपर्छ। त्यो हिसाब गरेर पछि विस्तृत कैदी पुर्जी दिने गरी अहिले डिल्लीबजार कारागार पठाएका छौँ ।’

२०६१ वैशाख ३१ गते गते काठमाडौंको महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा चक्रे मिलन भन्ने अर्का गुण्डा नाइके मिलन गुरुसहितलाई धारिलो हतियार (तरबार) प्रहार गरेको घटनामा मनाङे २० वर्षपछि जेल पुगेका हुन् । उच्च अदालतको फैसलाबाट यसअघि नै जेल बसेका मनाङे अब कम्तीमा २८ महिना त्यतै रहनेछन्‌ ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि आफैं अदालतमा हाजिर हु्ने बताइरहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी बस्दै आएको हाउजिङबाटै समातेको हो । सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट उनलाई मंगलबार १० बजेर ४० मिनेटमा पक्राउ गरि ब्यूरोमा उपस्थित गराइएको थियो ।

प्रतिकृया दिनुहोस