नेप्से घटेको घट्यै, नेप्से घटे पनि कारोबारमा भने केही सुधार

Nepal stock decline

काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भएको छ ।

सार्वजनिक बिदा हुँदा बुधबार बन्द भएको बजार मंगलबार १९६१.३७ को बिन्दुमा बन्द भएको थियो । बिहीबार नेप्से १.४७ प्रतिशतले गिरावट भएको हो ।

सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार परिसूचक नेप्से लगातार घट्दै गएको छ । ७ साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा सोही दिन नेप्से १ वर्ष यताकै उच्च बिन्दु २२२७.१६ समम पुगेको थियो । तर ८ साउनदेखि नै लगातार घट्न सुरु भएको नेप्से त्यसयताको करिब डेढ महिनामा २९४.७१ अंकले गिरावट भइसकेको छ ।

बिहीबार नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा निराश बनेका छन् । हाइड्रोपावर कम्पनीहरुको उपसूचक २.५२ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक २.०४ प्रतिशले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।

बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबारमा भने केही सुधार देखिएको छ । गत सोमबार १ अर्ब माथिकै कारोबार भएपनि मंगलबार भने करिब ८० करोडमा सीमित भएको थियो । तर बिहीबार कारोबार रकम पुन १ अर्ब नाघेको छ । नेप्सेमा ३२ हजार १३९ वटा कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १५ करोड ९ लाखको कारोबार भएको हो ।

जसमध्ये लिवर्टी इनर्जीको सर्वाधिक ६ करोड १५ लाखको कारोबार हुँदा सोल्टी होटलको ४ करोड २ लाख र शिवम् सिमेन्टको ३ करोड ७८ लाखको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २२८ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २०३ कम्पनीको सेयरमूल्य गिरावट हुँदा २१ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य भने स्थिर छ । कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ९.३६ प्रतिशतले गिरावट भएको छ । त्यस्तै अपर स्याङ्‍गे हाइड्रोपावरको सेयरमूल्य ९.०१ प्रतिशतले गिरावट भएको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ७.४६ प्रतिशत र इङ्वा हाइड्रोपावरको सेयरमूल्य ४.५५ प्रतिशतले बढेको छ ।

प्रतिकृया दिनुहोस