अध्यादेशमार्फत आयो कोशी प्रदेशमा ३६ अर्ब २४ करोडको बजेट, विपक्षी दलहरुद्धारा बहिष्कार

Hikmat karkii koshi

विराटनगर । अल्पमतमा रहेको कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत बजेट ल्याएका हुन् ।

विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बजेट सार्वजनिक गर्ने कार्यक्रम बहिष्कार गरेका छन् । उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन् ।
कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् । आर्थिक मामिला मन्त्रालयमा आयोजित बजेट सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू, एमाले र राप्रपाका सांसद तथा नेता, विभित्र मन्त्रालयका सचिवहरू, उच्चपदस्थ कर्मचारी, उद्योगी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्ष २०८०र०८१ को लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो अनुमान गरेका हुन् । चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ भने ३९ अर्ब ७३ करोड बजेटको यथार्थ प्राप्ति भने ३३ अर्ब ७ करोड हुने अनुमान गरिएको छ ।

कार्कीले ल्याएको बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड, विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ जुटाइएको छ ।

बाँकी रकम चालु आर्थिक वर्षको नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ जुटाइने मुख्यमन्त्री कार्कीले बताए । कृषि क्षेत्रमा २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । सरकारले उद्योग क्षेत्रमा ४३ करोड २३ लाख बजेट विनियोजन भएको छ ।

यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रका लागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन भएको छ । यस्तै शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट छुट्ट्याइएको छ । वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ । त्यस्तै कोशी प्रदेशसभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० करोड बजेट विनियोजन भएको छ ।

बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।

प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । भुमिगत पानी उत्पादन र वितरण सुधारका लागि चार करोड विनियोजन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...