क्रिकेटमा नेपाललाई अर्काे सफलता : एसीसी प्रिमियर कपको उपाधि नेपालको कब्जामा

Acc premier cup champions nepal

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो । सिंगापुरमा भएको एसिसि ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन ।

पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ । एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।

लगतै कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबावमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।

प्रतिकृया दिनुहोस