धनकुटाको भीरगाउँमा शुरु भयो प्रसूति सेवा

Virgaun swasthya chouki

धनकुटा । धनकुटा नगरपालिका–२ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउन दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गराएको हो । यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए ।

अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भ जाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ । पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । गाउँमै प्रसूति सेवा सुरु भएपछि भीरगाउँबासी हर्षित छन् । स्वास्थ्य चौकीमा प्रसूति गराएकी स्थानीय मन्दिरा भुजेलले गाउँमै प्रसूति सेवा पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिइन् ।

प्रसूति गराउन धनकुटा अस्पताल धाउने गरेका भीरगाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘नगरपालिकाकै आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एसबीए तालिम प्राप्त दक्ष अनमी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरेका छौं,’ तामाङले भने, ‘वर्थिङ सेन्टर सुरु भएपछि भीरगाउँ स्वास्थ्य चौकीमै डेलिभरी हुन थालेको छ, यसले भीरगाउँबासीलाई निकै सजिलो भएको छ ।’

स्वास्थ्य चौकीमा प्रसूति गराउनेहरुलाई यातायात खर्चवापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप ८ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउँने गरिएको स्वास्थ्य चौकी प्रमुख नितेश श्रेष्ठले जानकारी दिए ।

योसँगै धनकुटा नगरपालिकामा जिल्ला अस्पताल बाहेक दुई वटा वर्थिङ सेन्टर भएका छन् । बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गरिदै आएको छ । धनकुटा नगरपालिकाका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी पनि भइरहेको नगरपालिकाको स्वास्थ्य उपशाखाका प्रमुख भोजराज भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस