राजेन्द्र राईको सफलता : जिल्लामा ‘म्यान अफ द इलेक्सन’, सरकारमा पहिलो ‘इन्ट्री’

Rajendra rai muga

धनकुटा । धनकुटाको राजनीतिमा निक्कै चतुर खेलाडी मानिन्छन् राजेन्द्र राई । उनकै गाउँले सूर्यबहादुर थापा बाँचुञ्जेल उनी जिल्लामै सीमित रहे । जब थापा राजनीतिक रुपमा गल्न थाले, अनि चम्किन थाल्यो राईको राजनीतिक रेस ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सूर्यबहादुर थापाले छोरा सुनीलबहादुर थापालाई उत्तराधिकारीको रुपमा अघिसार्दा राई धनकुटा २ बाट थोरै मतले पराजित भए । तर, २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनमा जिल्लामा ‘क्लिन स्विप’ गरेको भन्दा अध्यक्ष केपी ओलीको हातबाट ‘म्यान अफ द इलेक्सन’ पनि पाए ।

ओलीको हातबाट ‘म्यान अफ द इलेक्सन’ को उपाधी पाएका कारण त्यही बेला राईलाई संघीय मन्त्रीको दाबेदार मानियो । तर दुर्भाग्य, पाँच वर्षसम्म ओलीको नजरमा पर्न सकेनन् । तर, जिल्लावासीको नजरबाट भने कहिले पछि परेनन् । त्यही भएर पाँच वर्षपछि पनि धनकुटालाई ‘क्लिन स्विप’ गरेर ओलीको नजरमा पर्न सके ।

धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायत वडा नं. ७ मा २०२२ भदौ २९ गते जन्मिएका हुन् राजेन्द्र राई । उनी पहिलोपटक २०४९ मा जनप्रतिनिधिका रूपमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए । २०५४ मा जिविस उपसभापतिमा निर्वाचित भएका राई योपटक नेपाल सरकारका विनाविभागीय मन्त्री भएका छन् ।

शब्द चित्रमा राई
धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर माविमा पढ्ने क्रममा राई अनेरास्ववियुमा संगठित भए । २०३६ सालमा काठमाडौँमा भएको अनेरास्ववियुको एकताको पाँचौँ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधि थिए । त्यतिवेला उनी ८ कक्षामा पढ्दै थिए ।

२०४२ मा माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी दिएलगत्तै पूर्णकालीन राजनीतिमा लागेका राई २०४७ मा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भए । राईको राजनीतिक यात्रा निक्कै लामो छ । उनी जिल्ला पार्टीको सचिवालय सदस्य हुँदै २०६६ असारमा भएको जिल्ला अधिवेशनबाट एमालेको धनकुटा जिल्ला अध्यक्ष निर्वाचित भए ।

त्यसपछि राई २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा धनकटाको धनकुटा अध्यक्ष भए । नेकपा भंग भएपछि उनी एमालेमै रहेर जिल्ला अध्यक्ष बने । २०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट राई केन्द्रीय सदस्य निर्वाचित भए ।

फलिफापको समय
२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नं. २ मा राई तत्कालीन राप्रपाका महामन्त्री सुनिलबहादुर थापासँग ४ सय ५४ मतले पराजित भए । यो बेला सूर्यबहादुर थापाले यो भोट सुनीललाई होइन, मलाई हो भनेका थिए । त्यही भएर पनि राजनीतिमा ‘इन्ट्री’ गर्नेवित्तिकै थापाले संविधानसभामा ‘इन्ट्री’ गर्दा लामो रेस दौडिरहेका राई ‘आउट’ भए ।

त्यसपछि राई थाकेनन् । २०७४ को स्थानीय निर्वाचनमा धनकुटाका ७ वटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले अध्यक्ष केपी ओलीबाट ‘म्यान अफ द इलेक्सन’ उपाधि पाए । सोही साल भएको प्रतिनिधिसभा निर्वाचनमा राईले उनै थापालाई १० हजार ४५९ मतले पराजित गरेर राजनीतिक फड्को मारे ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा राईलाई निर्वाचनमा जित हात पार्न सहज थिएन । किनभने नेपाली कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को सत्ता गठबन्धनका उम्मेदवार बनेका थापाले जिते मन्त्री पक्का भन्दै प्रचार गरिएको थियो । देशभर सत्ता गठबन्धनको दबदबा रहेका बेला सहज जित हात पारे । त्यति मात्रै होइन, उनकै इन्चार्जसिप रहेको धनकुटामा नेकपा एमालेले ‘क्लिन स्विप’ गर्न सफल रह्यो ।

सामान्य परिवारमा जन्मिएका राई यतिवेला विना विभागीय मन्त्री बनेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा कुन मन्त्रालय सम्हाल्ने हो भनेर टुंगिएको छैन ।

राई अगाडि धनकुटाबाट रकम चेम्जोङ र सुनीलबहादुर थापा २र२ पटक मन्त्री भइसकेका छन् । उनीहरुलाई धनकुटामा टेष्टेड मन्त्री भनिन्छ । राई भने पहिलोपटक मन्त्री बनेका छन् ।

राजेन्द्र राईले सरकारमा पहिलो ‘इन्ट्री’ गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । जिल्लावासीले उनीसँग जसरी जिल्लामा ‘म्यान अफ द इलेक्सन’ घोषित बने, त्यसरी नै सरकारमा पनि त्यसरी नै सफल बन्न सकुन् भन्ने अपेक्षा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस