भदौं दोस्रो हप्तातिर नेपालमा कोरोना संक्रमण उत्कर्षमा पुग्ने प्रक्षेपण

Corona

काठमाडौं । पछिल्लो केही दिनयता लगातार कोरोना संक्रमण बढिरहेको छ । नेपालमा कोरोना संक्रमणको चौथो लहर भदौको दोस्रो हप्तातिर उत्कर्षमा पुग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रक्षेपण गरेको छ ।

ईडीसीडी तथा विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपणमा भदौको दोस्रो सातामा लहर उच्च विन्दुमा पुग्ने र असोजबाट विस्तारै घट्दै जाने आकलन गरिएको हो । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि १ हजार आसपास छ । तर यो संख्या आगामी तीन हप्तासम्म अझै उकालो लाग्दै जानेछ ।

हाल दैनिक पीसीआर र एन्टिजेन गरेर ६ हजारको हाराहारीमा नमूना परीक्षण भइरहेको छ । जसमा संक्रमणदर १५ प्रतिशत पुगेको छ । तर, जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनी सरकारले प्रर्याप्त रुपमा परीक्षण नगर्दा संक्रमण फैलिरहेको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार संक्रमित हुँदा रोकथामका लागि कति आइसीयू, भेन्टिलेटर, बेड लगायतका अन्य समान चाहिन्छ भनेर तयारीको लागि प्रक्षेपण गरिएको हो ।

पछिल्ला दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ असारमा परीक्षण गरिएको नमुनामध्ये ०.६२ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २० साउनमा आइपुग्दा यो संक्रमण दर बढेर १५ प्रतिशतको हाराहारीमा पुगेको छ । कोरानोको नर्मल, मध्यम र उच्च खालको अवस्थालाई हेरेर प्रक्षेपण गरिएको ईडीसीडीका एक अधिकारी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कुल जनसंख्याको ७३।९ प्रतिशतले एक डोज र ७०.६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै, २५.५१ प्रतिशत अर्थात् ७३ लाख ३४ हजार ५ सय ५ जनाले बुस्टर डोज लिएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार १ साउनयता १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने ७५ प्रतिशतले कुनै पनि खोप नलाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार खोप लगाएकाहरु पनि धेरै क्यान्सर, मिर्गौला तथा दीर्घरोगबाट ग्रसित भएका थिए ।

 

प्रतिकृया दिनुहोस