धनकुटाकी एक्ली महिला वडाध्यक्ष : जसको सपना सानो छ तर सबै जनमुखी

Samjhana aale magar

धनकुटा । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धेरैले सम्झना आले मगर वडाध्यक्ष बन्लिन् भनेर पत्याएका थिएनन् । धेरैले महिलाले वडाध्यक्ष चलाउनै सक्दैनन् भन्ने सोच राख्ने भएकाले पनि सम्झनाले वडाध्यक्ष जित्लिन् भन्ने थिएन ।

तर, नपत्याउने खोलाले बगाउँछ भनेझैं धनकुटाको पाख्रिवास नगरपालिकाको वडा नं. ९ का जनताले सम्झनालाई पत्याए । लामो समयदेखि सामाजिक अभियान्ताको रुपमा चिनिएकी सम्झनाले वडाको विकास गर्न सक्छिन् भन्ने वडाबासीलाई लाग्यो र मत दिए ।

उनी आवद्ध स्वयं नेकपा एमालेले पनि टिकट दिने बेला जित्न सक्दिनन् की भनेर टिकट दिन हच्किएको थियो । तर, समाजमा उनको प्रभाव, काम गर्ने शैली र हक्की स्वभावका कारण उनले टिकट पाइन् । र, आफ्नो प्रतिद्धन्द्धी सत्ता गठबन्धनका उम्मेदवार धनबहादुर तामाङले ५४० मत ल्याउँदा सम्झनाले ६१२ प्राप्त गरिन् । अर्थात् ७२ मतको अन्तरले उनी विजयी भइन् ।

वडामा नयाँ अभ्यास
जनताको मन जित्न सधैं ठूलो काम गर्नुपर्छ भन्ने छैन । सानातिना भनिएका कामले पनि सफलता दिलाउन सक्छ । त्यही कुरालाई उनले पछ्याउने गरेकी छन् ।

उनी जिल्लाको एक्लो महिला वडाध्यक्ष हुन् । जसले आफुले नेतृत्व सम्हालेपछि फरक काम गर्ने सोच बनाएकी छन् । सोही अनुसार उनले वडाको प्रत्येक टोलमा ५ जना जनप्रतिनिधि मिलेर सबै टोलको सर्वेक्षण गराइन् । उनले त्यसरी टोलको सर्वेक्षण गर्नुको एकमात्र उदेश्य भनेको गाउँको समस्य पहिचान गर्नु हो ।

‘यसरी सबै जनप्रतिनिधिलाई सबै टोलको सर्वेक्षण वा अनुगमन गराउँदा विकास मलाई नै चाहियो भन्ने हुँदैन रहेछ’, उनले भनिन्, ‘त्यसरी अनुगमन गर्दा कुन टोलको समस्या बढी रहेछ भनेर थाहा हुँदो रहेछ । टोलको मुख्य समस्या पहिचानले वडावासीलाई पनि सजिलो बनाउँछ ।’

यो उनको अभ्यास पाख्रिबास नगरकै पहिलो अभ्यास पनि हो । यसले सबैलाई पाठ सिकाएको छ । उनको वडामा उपभोक्ता समिति पनि त्यसरी नै बनाइएको छ । ‘विकासका कामहरु पनि त्यसरी नै हुन्छ भन्ने सोचेको छु’, उनले भनिन्, ‘वडाको रकम कृषी सामाग्री खरिद गर्दा जनताले पनि लगानी गर्नुपर्छ भनेर त्यसको लागि पहल गरेको छु । यसले सबैलाई सजिलो पनि भएको छ ।’

प्राथमितामा कृषी
उनले चुनावी अभियानमा मतदातालाई त्यति धेरै आश्वासन दिइनन् । किनकी उनलाई आश्वासनभन्दा ठूलो व्यवहार लाग्थ्यो । उनले चुनावताका मुख्य एजेण्डा नै वडावासीलाई जिविकोपार्जन गर्न सजिलो बनाउन कृषीलाई पहिलो प्राथमिकतामा राखेकी थिइन् ।

उनले पहिले पनि अर्थात् जनप्रतिनिधि बन्नुअघि पनि कृषीलाई आधुनिकीकरण गर्न पहल गरेकी थिएन । २०७४ सालमा कृषी ज्ञान केन्द्रमार्फत पहिलोपटक ९ नं. वडामा अनुदान भित्र्याउन सफल भएकी थिइन् । त्यही बेला उनले वडा नं. ९ मा रहेको जनचेतना कृषक समुहलाई सक्रिय बनाइन् । त्यसैको परिणामले पनि उनलाई वडाको कार्यकारी पदमा बसाएको छ ।

उनले आफ्नो पाँच वर्षे कार्यकालमा पनि कृषी क्षेत्रको सुधार, विकास र समृद्धिको लागि काम गर्ने लक्ष्य बनाएकी छन् । किसानलाई आयमुलक बनाउनुपर्छ भन्ने उनको सोचाई छ । किनकी उनी पनि कृषक हुन् । उनका श्रीमान लामो समयदेखि कृषी क्षेत्रमै कार्यरत छन् ।

उनको वडाको जनसंख्या ४ हजार पाँच सय छ । उनको वडामा सबै भन्दा धेरै तामाङ छन् । त्यसपछि मगर, क्षेत्री बाहुन छन् भने राई थोरै छ । आफुले जसरी पनि आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएकी छन् ।

छोटो राजनीतिक यात्रा, लामो फड्को
२०३७ सालमा धनकुटाको धनकुटा नगरपालिका वडा नं. ७ मा जन्मिएकी सम्झना आले मगरको राजनीतिक यात्रा त्यति लामो छैन । तर, प्रगति र राजनीनिक फड्को भने लामो छ ।

उनले अनौपचारिक रुपमा २०५६ सालमा धनकुटाको माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी उत्तीर्ण गर्दासम्म राजनीतिप्रति कुनै लगाव थिएन । किनकी विद्यालय तहमा राजनीति गर्न खासै दिँइदैन थियो । २०५६ सालमा प्रविणता प्रमाण पत्र तह अध्ययन गर्दा चाँही राजनीतिमा हात हालिन् ।

०५८ मा आइए पढ्दा पढ्दै उनको विवाह भयो । त्यसपछि पढाईमा ब्रेक लाग्यो । पनुः ०६५ मा धनकुटाको त्रिवेणी मावि, जहाँ उनले कक्षा ८ सम्म पढेकी थिइन्, त्यही विद्याालयमा प्लस टु भर्ना भइन् । २०६८ मा उत्तिर्ण भइन् । त्यसपछि धनकुटा बहुमुखी क्याम्पसबाट विएड उत्तिर्ण गरिन् । विवाहपछि उनको राजनीतिक यात्रा पनि सुस्तायो । बरु सामाजिक काममा व्यस्त भइन् ।

उनी नेकपा एमालेको वडा कमिटी सदस्य हुँदै हुँदै २०७४ मा नगर कमिटी सदस्य भइन् र ०७५ मा जिल्ला कमिटी सदस्य पनि भइन् । २०७८ मा भएको दशौं जिल्ला अधिवेसनबाट उनी पुनः जिल्ला कमिटी सदस्य निर्वाचित भएकी छन् । हाल अनेमसंघको जिल्ला कमिटी सचिवालय हुन् भने पाख्रिबास नगर इन्चार्ज पनि हुन् ।

जिल्लाकै एक्लो महिला वडाध्यक्ष
जतिसकुै मिठा र गुलिया भाषण गरे पनि अधिकाँस राजनीतिक पार्टीहरुका नेताहरुमा महिला, दलित र जनजातिहरुलाई हेर्ने दृष्टिकोण उस्तै उस्तै हुन्छन् । उनी आवद्ध नेकपा एमालेले पनि धनकुटाका ६० वटा वडामध्ये पाख्रिवास वडा नं. ९ मा मात्रै वडाध्यक्षको उम्मेदवार बनायो ।

उनले वडाध्यक्षको टिकट पाउन पनि निक्कै संघर्ष गर्नुपरेको थियो । हक्की स्वभाव, निडर र केही गर्छु भनेर अड्डी कस्ने भएकाले र उनी यसअघि कार्यपालिका सदस्य हुँदा वडा तहमा पारेको प्रभावले वडाध्यक्षको टिकट दिन बाध्य भएको थियो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सम्झनाका प्रतिद्धन्दी थिए नेपाली कांग्रेसका धनबहादुर तामाङ । तामाङलाई नेकपा माओवादीको साथ थियो । त्यति हुँदा पनि तामाङले ५४० मत ल्याउँदा सम्झनाले ६१२ मत प्राप्त गरिन् । अर्थात् ७२ मतले पराजित गर्दै वडाको नेतृत्व गर्ने अवसर पाइन् ।

अहिले उनको वडामा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख बीचको मनमुटावका कारण कर्मचारी छैनन् । कर्मचारी नहुँदा जनताका दैनिक कामकाजहरु नरोकियोस् भनेर आफैं दैनिक रुपमा कार्यालय सञ्चालन गर्छिन् ।

उनी जनताको सेवक हुन् । त्यही भएर कर्मचारी नभए पछि अहिले आफैं वडा कार्यालय खोल्ने गर्छिन् । वडासचिवले गर्ने काम अहिले उनी आफैंले गर्छिन् ।उनी पाख्रिबास नगरपालिकाको सामाजिक विकास समितिको संयोजक पनि हुन् । यसले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र हेर्ने अवसर पाएकी छन् ।

‘महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । त्यो बेला केही गर्न सक्दैनन भन्ने थियो’ उनले निशान न्युजसँग भनिन्, ‘मैले पुरुषले गर्ने के काम गरेको छैन र ? सबै काम गरेको छु । तर पनि महिला भएकाले काम गर्न सक्दिनस् भन्नेहरु छन् । आवश्यक पर्दा जनतालाई जस्तो सेवा गर्न पनि तयार छु ।’

उनी वडाध्यक्ष बनेपछि त्यस्तो ठूलो सपना बुनेकी छैनन् । उनले चुनावी अभियानका बेला पनि आफ्नो चुनावी घोषणा पत्रमा ठूलो आश्वासन पनि दिइनन् । मात्र उनले आफ्नो कार्यकालभरी बाक्लो बस्ती रहेको आफ्नो वडामा बाह्रै महिना एम्बुलेन्स चलाउने योजना बनाएकी छन् । ‘मैले ठूलो सपना देखाइनँ । जे बोले त्यो पूरा गर्छु’ उनले भनिन्, ‘गाउँमा बत्ति बलोस्, जनताले सुविधा पाउन भन्ने सोचाई छ ।’

 

प्रतिकृया दिनुहोस