राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने

Rastra baink bilding

काठमाडौं । राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । त्यस अघि बैंकको सञ्चालक समितिको बस्दै छ । विहान आठ बजे सञ्चालक समितिको बैठक बस्नेछ ।

मौद्रिक नीतिको मस्यौदाबारे बिहीबार बिहान गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासिनीलगायत उच्च पदाधिकारी र बेलुका प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री देउवाको ‘ग्रिन सिग्नल’ मिलेपछि राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार प्रधानमन्त्री एवं अर्थमन्त्री शेरबहादुर देउवालाई नेपाल जानकारी गराएका छन् । बेलुकी साढे पाँच बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मौद्रिक नीतिबारे जानकारी गराएर एक घण्टामा बाहिरिएका थिए ।

बजेटमा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको प्रवेशपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

तरलता अभावका कारण पछिल्लो ६ महिनायता बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । व्यापार घाटा र शोधनान्तर घाटाले इतिहासमै नयाँ कीर्तिमान बनाएको छ । विदेशी मुद्रा सञ्चिति घटेको छ भने ब्याजदर र मूल्य वृद्धि निरन्तर उकालोतर्फ छ । यसरी अर्थतन्त्र संकटोन्मुख रहेको बेला केन्द्रीय बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ ।

बजेटमा लक्षित ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्तिमा सहयोग हुने र मूल्य वृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्नुपर्ने चुनौती राष्ट्र बैंकलाई छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अर्थतन्त्रको अवस्था धेरै बिग्रिसकेको छ ।

एकातिर अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धिमा वाञ्छित सीमा राख्नुपर्ने कडा चुनौती राष्ट्र बैंकलाई छ भने अर्कोतिर चालु आर्थिक वर्षको बजेटमा ३० वटाभन्दा बढी कार्यक्रम घोषणा भएका छन्, जुन मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्नेछ । यी कारणले पनि राष्ट्र बैंकले बाहिर भन्दै आएजस्तो अति कसिलो नीतिको सम्भावना कम रहेको जानकारहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस