आजबाट २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइदैं

बाँकी ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुने

Khop

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाका अनुसार पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको हो । पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ । यस्तै, प्रदेश-१ का झापा, मोरङ, इलाम, सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ।

त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रूपन्देही, बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नआत्तिन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ । खोप लगाए पछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ। यस्तो समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जान विभागको आग्रह छ ।

 

प्रतिकृया दिनुहोस