२४ लाख खोप वेपत्ताको आरोप पुष्टि गर्न स्वास्थ्यमन्त्री खतिवडाको चुनौती

Birod khatiwoda

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २४ लाख खोप वेपत्ताको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। खासगरी प्रतिपक्षी नेकपा एमालेका सांसदले २४ लाख खोप प्रकरणलाई निरन्तर उठाएपछि मन्त्री खतिवडाले आफू आरोपित हुन इच्छुक रहेको उल्लेख गर्दै पुष्टि गर्न चुनौती दिएका छन्।

संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप कता गयो भनेर प्रश्न उठाएपछि मन्त्री खतिवडाले यसको जवाफ आफूले तथ्यसहित धेरै ठाउँमा दिइसकेको र तथ्य हेरेर हराएको पुष्टि गर्न चुनौती दिए।

‘२४ लाख खोप कता गयो भनेर धेरै प्रश्न उठ्यो। स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन देशबाट के नामको खोप कति आयोरु कुन मितिमा आयोरु भन्ने उल्लेख छ,’ उनले जवाफ दिए, ‘त्यो खोप काठमाडौं सेन्टरमै आएको छ। सिधै नेपालगंज, विराटनगर गएको छैन। यहाँबाट कुन प्रदेश के के नाम गरेको खोप कति गयो, त्यो पनि वेबसाइटमा छ। प्रदेश पनि जिल्लालाई कुन कुन नाम गरेको खोप कति बाँड्यो त्यो पनि छ।’

नेपालमा हालसम्म ५ करोड ३३ लाख खोप आएको र ४ करोड ८७ लाख डोज लगाइएको उनले जानकारी गराए। अहिले स्टक ४६ लाख ४७ हजार खोप रहेको उनले उल्लेख गरे।

‘यदि २४ लाख खोप मैले कतै घोटाला गरेको हो भने नेपाली उखानहरु चोरले चोरै देख्छ, बदमासले बदमासै देख्छ, सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै चुनौतीका साथ भन्छु कुनै पनि प्रदेशमा गएर यो विरोध खतिवडाले दिएको डाटा, स्वास्थ्य मन्त्रालयको दिएको डाटाअनुसार तपाईहरुले खोप पाउनुभएको छ भनेर सोधिदिनुपर्‍यो प्लिज। कुनै पनि प्रदेशमा गएर यो विरोध खतिवडाले वेबसाइटमा राखेको डाटा सहि हो ? खोप पाउनुभएको हो भनेर सोधिदिनु पर्‍यो,’ उनले चुनौतीसहित अनुरोध गरे।

मन्त्री खतिवडाले थपे, ‘प्रदेशले जिल्ला जिल्लालाई दिएको डाटा छ। त्यहाँ पनि तपाईंले खोप पाएको हो भनेर सोधिदिनुस्। यदि उनीहरुले हो भन्यो भने मैले बोलेको कुरा सत्य भयो। यदि ७७ वटै जिल्ला, सातै प्रदेशका प्रतिनिधि र कार्यालयहरुले यो खोप मेरोमा आएको हो भन्यो भने आरोप लगाउनेहरु झुटो सावित हुन्छन्।’

उनले आफू आरोप पुष्टि भएर आरोपित हुन इच्छुक रहेको पनि बताए। ‘म आरोपित हुन इच्छुक छु। म झुटो सावित हुनलाई आतुर छु। कृपया त्यति गरिदिनुहोला,’ उनले आरोप लगाउने सांसदलाई भने।

 

प्रतिकृया दिनुहोस