सर्वोच्चको फैसलासंगै फरार रहेका रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

कोइरालालाई सोमबार सर्वोच्चमा उपस्थित गराएर कारागारको जिम्मा लगाइने

Ranjan koirala

काठमाडौँ । सर्वोच्च अदालतले यसअघिको फैसला बदर गरेसँगै सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला  पुनः पक्राउ परेका छन् । व्यक्ति हत्या अभियोगमा जन्मकैदको सजाय पाएर पनि सर्वोच्चले दुई वर्षअघि कैदमा भारी छुट दिएपछि कोइराला छुटेका थिए ।

जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गर्ने सर्वोच्चको यसअघिको फैसला बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्ट्याएपछि कोइराला सम्पर्कविहीन भएका थिए । अदालतको फैसलालगत्तै फरार भएका उनलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

२०६८ पुसमा पत्नी गीता ढकालको हत्या अभियोगमा जिल्ला अदालत काठमाडौं र तत्कालीन पुनरावेदन अदालत पाटनबाट दोषी ठहर भएपछि कोइराला डिल्लीबजार कारागारमा थिए । पत्नी गीताको हत्या गरी कोइरालाले मकवानपुरको टिस्टुङमा लगेर शव जलाएको अनुसन्धानबाट खुलेको थियो । तर, कसुर अस्वीकार गर्दै कोइरालाका तर्फबाट सर्वोच्चमा परेको रिटमाथि फैसला गर्दै २०७७ असार १५ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरेपछि उनी साउन ८ मा कारागारमुक्त भएका थिए । त्यसयताको दुई वर्ष कारागारबाहिर रहेका कोइराला सर्वोच्चको बिहीबारको फैसलाले पुनः कारागार चलान हुने भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले कोइरालालाई सोमबार सर्वोच्चमा उपस्थित गराएर कारागारको जिम्मा लगाइने बताए । शनिबार र आइतबार बिदा परेका कारण अदालत बन्द हुने भएपछि सोमबार मात्रै कोइरालालाई सर्वोच्चमा उपस्थित गराइने उनले जानकारी दिए । सर्वोच्चको बिहीबारको फैसलासँगै कोइरालाले साढे ११ वर्ष कारागार बस्नुपर्नेछ ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले उनलाई जन्मकैदको फैसला सुनाए पनि दुई वर्षअघि प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलासले ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै सजाय घटाउने फैसला गरेको थियो । त्यतिन्जेल आठ वर्ष ६ महिना थुनामा बसेका कोइरालालाई ‘त्यति नै जेल बस्दा पनि सजायको मकसद पूरा हुन्छ’ भन्ने ठहर सर्वोच्चले गरेको थियो । तर, फैसला गैरकानुनी भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएको थियो । निवेदनपछि २०७७ साउन ११ मा सर्वोच्चले आफ्नै पहिलेको फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो । बिहीबार गोला प्रक्रियाअनुसार तोकिएको तीन सदस्यीय पूर्ण इजलासले हाल निलम्बनमा रहेका जबरासहितको इजलासले गरेको फैसला उल्ट्याइदिएपछि कोइरालाको जन्मकैद पहिलेकै कायम भएको हो ।

काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ मा उनलाई पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । काठमाडौंका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले गरेको फैसलालाई पुनरावेदन अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो । त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए । कोइराला एकवर्षे नेसनल डिफेन्स कोर्सका लागि २०६८ भदौमा चीन गएका थिए । चार महिनापछि २०६८ पुस २१ मा बिदामा नेपाल आएका उनले पुस २७ मा गीताको घर पुगी कान्छो छोरा लिएर निस्किएका थिए । त्यसको केही दिनमै गीता सम्पर्कविहीन भइन् । माइती पक्षले उनको खोजबिन गर्न प्रहरीमा निवेदन दिएपछि अघि बढेको अनुसन्धानका क्रममा कोइरालाले गीताको हत्या गरी टिस्टुङमा लगेर शव जलाएको खुलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...