निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

Supreme court

काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्चले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।

अदालतले बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेशसमेत दिएको छ ।अदालतको यो फैसलासँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना प्रभावित भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला गरेको हो ।

तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करिब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । वातावरण संरक्षणका लागि क्रियाशिल व्यक्ति तथा संस्थाहरूले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरण र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्‍याउने भन्दै यो योजनाको विरोध हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस