संघर्षको परिणाम : जसले पियन हुँदै सम्हाल्न थाले खेलकुद विकास समिति

Manoj rai dkt

धनकुटा । कर्म गरे फल अवस्य पाइन्छ । त्यसमा पनि निरन्तर संघर्ष गरे त्यसको नतिजा ढिलो चाडो आउँछ नै । लामो संघर्षले नै सफलतामा पु¥याएको छ धनकुटा ६ का मनोजकुमार राईलाई ।

निर्माण व्यवसायीसमेत रहेका राईले २०७८ साल चैत्र ३० गते मंगलबार मात्रै जिल्ला खेलकुद विकास समिति धनकुटाको अध्यक्षको पदभार ग्रहण गरे । उनले अध्यक्ष जस्तो पद सम्हाल्दै गर्दा उनी त्यही जिल्ला खेलकुद विकास समितिको पियन अर्थात् कार्यालय सहायक थिए भन्ने धेरैलाई थाहा छैन । यथार्थ यही हो ।

२०६५ मा इन्द्रमणी पराजुली जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा राई भने कार्यालय सहयोगी थिए । पराजुली धनकुटा प्रदेश नं. ‘ख’ को सांसद् हुन् ।

पराजुली अध्यक्ष हुँदा राई खेलकुद विकास समितिमा पियनको काम गर्थे । कार्यालय सहायक भएको १३ वर्षपछि उनी त्यही खेलकुद विकास समितिको नेतृत्व सम्हाल्न आइपुगेका छन् ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले राईलाई यही चैत २४ गते जिल्ला खेलकुद समितिको अध्यक्ष नियुक्त गरेको थियो । धनकुटामा राईलाई अध्यक्ष नियुक्त गरेको थियो ।

यसअघि ०७२ देखि ०७६ सम्म कोषाध्यक्ष थिए । उनी कोषाध्यक्ष हुने बेलासम्म खेलकुद विकास समितिको कार्यालय भाडामा थियो । उनी कोषाध्यक्ष भएकै समयमा समितिको भवन बन्यो र त्यही भवनमा हाल खेलकुद विकास समितिको कार्यालय सञ्चालनमा छ । उनी कोषाध्यक्ष हुँदा भवन बनाउँदा लागेको ४ लाख ७० हजार रुपैयाँ अझैं लिन बाँकी छ ।

विसं. २०४० मा जन्मिएका राई २०५२ सालदेखि नै खेलकुद क्षेत्रमा लागेका थिए । उनी सितोरियो कराँतेको ब्लाकबेल्टमा सेकेण्ड डन हुन् । उनले केही समयसम्म धनकुटाको तल्लो टुढिखेल र चाम्जिबुङमा सितोरियो कराँतेमा भोलेन्टियर प्रशिक्षक भएर काम गरे ।

उनले विभिन्न प्रतियोगिताहरुमा भाग लिए । र, धेरैपटक विजयी पनि बने । उनी कोशी स्तरीय सितोरियो कराँते प्रतियोगितामा प्रथमसमेत बने । तर, उनी आजभोली खेलकुद क्षेत्रमा भन्दा बढी राजनीति र निर्माण व्यवसायमा क्रियाशील छन् । उनी हाल नेपाल निर्माण व्यवसायी महासंघ धनकुटाको महासचिव छन् ।

पछिल्लो समयमा धनकुटामा खेलकुद क्षेत्रमा उत्साह भन्दा पनि निरासा छ । खेलकुद क्षेत्रको विकास सुस्ताएको छ । सामान्य गतिविधिबाहेक सबै गतिविधि ठप्प छन् ।

कोरोनाले खेल क्षेत्रलाई डामाडोल बनाएकै समयमा अर्थात् उनी भुतले खानजा खाने समयमा खेलकूद क्षेत्रको विकास गर्ने दायीत्व उनको काँधमा आएको छ ।‘धनकुटाको खेलकुद क्षेत्रको विकासमा जुनसुकै प्रयास गर्न तयार छु’ राईले निशान न्युजसँग भने, ‘मैले मेरो काँधमा जे जिम्मेवारी आएको छ, त्यसलाई इमान्दारीताका साथ पूरा गर्नेछु ।’

नवनियुक्त अध्यक्ष राईले आगामी दिनमा धनकुटाको खेल क्षेत्रको विकासका लागि हर प्रयास गर्ने बताए । उनले धनकुटामा खेल क्षेत्र सुस्ताउँदै गएकाले खेल क्षेत्रमा उत्साह ल्याउनेगरी योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस