करणको विजयी छक्का, नेपालद्वारा पपुवा न्यु गिनी पराजित

Criket 2

काठमाडौं । रोहित पौडेल र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा बुधबार पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको छ । नेपालले २ सय ५ रनको लक्ष्य अन्तिम ओभरमा पुरा गर्‍यो ।

पपुवा न्यु गिनी अघिल्लो दिन यसै शृंखलामा घरेलु टोली यूएईसँग ७ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार र सोमबार यूएईसँग दुई खेल खेल्ने छ ।

नेपाल १५ ओभरमा ४२–४ को स्थितिमा पुगेको समयमा रोहित र आरिफले पाँचौं विकेटमा १ सय २ रनको साझेदारी गरेका थिए । १७ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै गरेको नेपालबाट पहिलो पटक सतकीय साझेदारी सम्भव भएको हो । रोहित र आरिफ दुबैले अर्धशतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको चौथो र आरिफको पहिलो अर्धशतक हो ।

रोहितले ५८ र आरिफले ५३ रन बनाए । रोहितले ८२ बल खेली ४ र आरिफले ८६ बल खेली २ चौका प्रहार गरे । कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४, दीपेन्द्रसिंह ऐरी ८ र आसिफ शेख १६ रनमा आउट भई नेपाल संकटमा परेको समयमा रोहित र आरिफले मजबुत साझेदारी गरेका थिए ।

यी दुई आउट भएपछि करण केसी र सोमपाल कामीले नेपाललाई जिताए । सोमपाल ७ बलमा ८ रन बनाई आउट भए । करण २५ बलमा २९ रन बनाई अविजित रहे । अन्तिम ओभरमा नेपाललाई विजयका लागि ५ रन चाहिन्थ्यो । पहिलो बल लेग बाईमा चौका भएपछि करणले अर्को बलमा स्ट्रेट छक्का प्रहार गर्दै नेपाललाई विजय दिलाए ।

यसअघि पपुवा न्यु गिनीले बुधबार शारजहाँ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै २०४–८ को स्कोर बनाएको थियो । चार्ल्स अमिनीले अर्धशतक बनाउदै पपुवा न्यु गिनीलाई योग्य स्कोरमा पुर्‍याए । ५९ रन बनाएका अमिनी ४५ औं ओभरमा आउट भए । उनले ८२ बल खेली ७ चौका प्रहार गरे ।

अमिनीले चाड सुपरसँग पाँचौं विकेटमा ७४ रनको साझदोरी गरे । सुपरले ७४ बलमा २ चौकासहित ३५ रन बनाए । नोरमन भानुआले १२ बलमा २२ रन बनाएपछि पपुवा न्यु गिनीको स्कोर २ सय रनमाथी पुग्न सहयोग गरेको थियो ।

टोनी उरा र लेगा सिएकाले ५१ रन जोड्दै पपुवा न्यु गिनीलाई राम्रो सुरुआत दिलाएका थिए । १० औं ओभरमा आरिफ शेखले उरालाई २७ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराई यो साझेदारी तोडेका थिए । सिएकालाई १३ औं ओभरमा कप्तान सन्दीप लामिछानेले बोल्ड गरे ।

सन्दीपसँगै ज्ञानेन्द्र मल्लले नेपालले खेलेको सबै १७ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेल्दै आएका छन् । तर ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा यसअघि कहिल्यै बलिङ गरेका थिएनन् । अप्रत्यासित रुपमा बलिङमा ल्याइएका ज्ञानेन्द्रले आफ्नो अफ स्पिन बलिङबाट नेपाललाई महत्वपूर्ण सफलता दिलाए । उनले पपुवा न्यु गिनीका प्रमुख ब्याटर असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ज्ञानेन्द्रले नै हिरी हिरीलाई शुन्यमा रनआउट गर्न प्रमुख भुमिका खेले ।

सन्दीपको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक खेलेको हो । सन्दीपको कप्तानीमा नेपालले पहिलो पटक गत महिना ओमानमा ट्वान्टी–२० विश्वकप छनोटमा खेलेको थियो र यूएईभ्रमणबाट त्यसले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि निरन्तरता पाइरहेको हो ।

नेपालबाट सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरे । उनले ४ ओभरमा २१ रन खर्चेर कुनै विकेट लिन सकेनन् । गत महिना उनले ओमान भ्रमणबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । सोमपालले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । सन्दीपले १ विकेट लिनेक्रममा १० ओभरमा ३० रन खर्चे । करण केसीले ८ ओभरमा ५६ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

कोभिड–१९ महामारीका कारण प्रभावित बनेको लिग २ को तालिकामा नेपालले २०२० को फेब्रुअरीपछि २०२१ को सेप्टेम्बरमा अर्को शृंखला खेलेको थियो । २०२० मा काठमाडौंमा अमेरिका र ओमानलाई नेपालले निमत्याएको थियो । कीर्तिपुरमा नेपालले अमेरिकासँगको दुबै खेल जितेको थियो भने ओमानसँगको दुबै खेल हारेको थियो ।

२०२१ मा ओमान भ्रमणमा नेपालले ओमान र अमेरिकासँगको १–१ खेलमा विजय हात पारेको थियो भने अर्को १–१ खेलमा हार बेहोरेको थियो ।

पपूवा न्यु गिनी लिग २ को पुछारको टोली हो । टोलीले खेलेका सबै १४ खेलमा पराजय भोगेको छ । नेपालले ९ मध्येको पाँच खेलमा जित र ४ खेलमा हार बेहोरी ७ राष्ट्रसम्मिलित लिग २ को अंक तालिकामा पीएनजीभन्दा माथि मात्र रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...