रेमिट्यान्स घट्ने क्रम रोकिएन, विदेशी मुद्रा सन्चिती २ खर्ब ३३ अर्ब घट्यो (प्रतिवेदनसहित)

Rastra bank

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट नेपालको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले बढेको देखिएको हो ।

पुससम्म कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले बढेर रु. ८८० अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५.५ प्रतिशतले घटेर ४ खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा मुलुकको विदेशी मुद्रा सन्चिती २ खर्ब ३३ अर्ब रुपैयाँले घटेको छ । जसअनुसार गत पुसमा कुल विदेशी मुद्रा सन्चिती ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ छ । गत असारको तुलनामा यो १६.७ प्रतिशतले घटेको हो । गत असारमा कुल विदेशी मुद्रा सन्चिती १३ खर्ब, ९९ अर्ब, ३ करोड रुपैयाँ थियो ।

‘अमेरिकी डलरमा विदेशी मुद्रा सन्चिती २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ६ महिनामा उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...