आज विश्व क्यान्सर : चेतनामूलक कार्यक्रमका मनाइँदै

Smoking 1

काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । नेपाल लगायत विश्वभर विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।

‘हेरचाहमा विभेदको अन्त्य’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यस दिवसलाई सार्थक बनाउनका लागि नेपाल अर्वुद रोग निवारण संस्थाले आज विशेष कार्यक्रमको आयोजना गर्दैछ । कोभिड महामारीका कारण यस पटकको दिवसमा उल्लेखनीय कार्यक्रम राख्न नसकिए पनि साँकेतिक रुपमा भए पनि संस्थाले विविध कार्यक्रको आयोजना गर्दैछ ।

नेपालमा क्यान्सर रोगको दिनप्रतिदन ग्राफ बढ्दो छ । सर्ने भन्दा नसर्ने रोगको प्रमुख सूचिमा रहेको यस रोगका कारण वार्षिक रुपमा हजारौंले अनाहकमा ज्यान गुमाउनु परेको डरलाग्दो तथ्यांक एकातिर छ भने अर्कोतर्फ यसको उपचार र निदानका लागि व्यक्ति र राज्यस्तरबाट भएको लगानी उच्च छ । एक तथ्यांकअनुसार नेपालमा क्यान्सरबाट प्रत्येक वर्ष २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ भने ५० हजार भन्दा बढी व्यक्ति नेपालमा क्यान्सरबाट पिडित रहेका छन् ।

विभिन्न कारणले मानिसहरु दिनादुदिन क्यान्सरबाट पिडित हुने र ज्यान गुमाउने नियति भोग्न बाध्य छन् । तर क्यान्सर रोगको यो भयानकता विद्यमान हुदाहुदै पनि नेपालमा यो रोगप्रति सरकारको गम्भिरता भने देखिएको छैन । केही सीमित संघसंस्थाको पहल र जागरणका भरमा मात्रै क्यान्सर निवारणको क्षेत्रमा उल्लेखनिय उपलब्धी हासिल गर्न सम्भव छैन । यसका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नु आवश्यक छ ।

सन् २०२५ सम्ममा नसर्ने रोगबाट हुने अल्पायु मरण २५ प्रतिशतले घटाउने विश्वव्यापी लक्ष्य ‘विश्व क्यान्सर घोषणापत्र सन् २००८’ को प्राप्तिका लागि विश्वस्तरमै विभिन्न खाले प्रयासहरु सुरु भएका छन् । विज्ञहरुका अनुसार क्यान्सरको उपचारमा लगानी गर्नुभन्दा यसको रोगथाममा लगानी गर्नु विश्वका सरकारहरुका लागि निकै सस्तो पर्छ । स्वस्थकर जिवनशैली, सन्तुलित खाना, वातावरणीय स्वच्छताका कारण क्यान्सरको कारकतत्वको रुपमा रहेका ह्युमन प्यापिलोमा भाइरस तथा हेपाटाइटीस भाइरस विरुद्धको खोपको पहुँच सबै मानिसमा पूराउन सकेमा क्यान्सरको प्रकोप निकै कम हुने र यसलाई धेरै हदसम्म रोकथाम गर्न सकिने विज्ञहरु बताउँछन् ।

सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानेकुरा, असन्तुलित जीवनशैली, खाद्यान्नमा रसायनको प्रयोगलगायतका कारण क्यान्सर रागको प्रमुख कारण हो । खानपान, व्यायाम, तथा वजन नियन्त्रण वा व्यक्तिगत स्वास्थ्यमा ध्यान पूराउन सक्ने हो भने झण्डै एक तिहाइ क्यान्सर रोक्न सकिने विज्ञहरु बताउँछन् । राज्य र जनस्तरको सामुहिक प्रयत्नबाट मात्रै क्यान्सर रोग नियन्त्रणमा सफलता पाउन सकिने कुरामा ध्यान दिन जरुरी छ ।

यिनीहरुको नियन्त्रण र नियमनमा राज्यस्तरबाट अझै सशक्त भूमिका खेल्न जरुरी छ । नेपालमा क्यान्सर रोगको उपचारका लागि सरकारी स्तरमा रहेको वीर, टिचिङ लगायतका सीमित अस्पतालमा सेवा हुने गरेको छ भने विशेषज्ञ सेवाको रुपमा भरतपुर बीपी कोइराला क्यान्सर अस्पताल, नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा दिइरहेका छन् भने नेपाल अर्वुद रोग निवारण संस्थाबाट भक्तपुरमा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले सेवा दिँदै आएको छ र पछिल्लो समयमा भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगरपालिकाको हस्तक्षेपका कारण उक्त अस्पताल सर्वोच्च अदालतले नेपाल अर्वुद रोग निवारण संस्थालाई नै सञ्चालन गर्न दिन परमादेश दिए पनि उक्त आदेश कार्यान्वयन भएको छैन ।

उल्टै केन्द्रीय सरकारको स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गरेर संस्थासँग समन्वय नै नगरी एकतर्फी रुपमा संस्थाको सञ्चालक समिति बनाउनेदेखि लिएर अस्पताल कब्जा गरेर जुन किसिमले हर्कत देखाइएको छ सो कदम अवैद छ । स्थानीय र संघीय सरकारले गरेको यो कदमविरुद्ध संस्थाले निरन्तर खबरदारी गरे पनि उक्त कदम सच्चयाउने कुनै काम भएको छैन । तत्काल यो कदम सच्च्याएर सरकारले भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्वुद रोग निवारण संस्थाले सञ्चालन गर्ने वातावरण बनाओस् ।

प्रतिकृया दिनुहोस