ह्वात्तै घट्यो कोरोना संक्रमण : थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९।५ प्रतिशत रहेको छ ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार थप २ लाख ७२ हजार ७४८ जनाले कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा सर्वाधिक १ हजार ४०४ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ३०५ तथा भक्तपुरमा १११ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा सर्वाधिक ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, ललितपुरमा १० हजार १२५ तथा भक्तपुरमा ५ हजार ६०५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

उपत्यकाबाहिर धनुषामा ९८, काभ्रेपलाञ्चोकमा ११६, चितवनमा ११५, कास्कीमा ११५, बाँकेमा ७३, रुपन्देहीमा ८० तथा कैलालीमा १२० जना सङ्क्रमित थपिएका छन् । हाल ५ सयभन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

प्रतिकृया दिनुहोस