‘भवितव्य’ घटनाभित्रको कथा : काममा विभेदले खोस्दैछ धेरै महिलाको जीवन

Humkala and madhu kumari

समयसँगै समाजमा धेरैथोक बदलिए, तर ग्रामीण परिवेशमा महिलाले आफूलाई ‘तोकिएका’ कामबाट छुटकारा पाएका छैनन् । ‘महिलाले मात्र गर्नुपर्ने’ भनेर समाजले निर्धारण गरिदिएका कामले कैयौं महिलाको ज्यान मात्र लिइरहेको छैन, धेरैको अंगभंग भएर असहज जीवन बाँच्न बाध्य तुल्याएको छ । ‘भवितव्य’ भनिएका घटनाभित्रको कहालीलाग्दो पाटोः

घाँस–दाउरा र मेलापातको दैनिकीमा बाँचिरहेकी एक ग्रामीण महिलाको सपना के हुन्छ ? उमेर छउन्जेल गरिखाने हातगोडा सद्दे भइदिऊन्, रोगव्याधि नलागोस्, दुःख गरेरै भए पनि भरपेट खान पुगोस् ! दोलखाको भीमेश्वर नगरपालिकाकी ५५ वर्षीया चन्द्रमाया फुयाँलको सपना पनि सम्भवतः योभन्दा ठूलो थिएन । चाहे जस्तै यो उमेरसम्म उनलाई केही रोगव्याधि लागेन । अस्पताल जानु परेको त उनलाई सम्झना पनि छैन । तर, गएको १ साउन चन्द्रमायाको जीवनमा हुन्डरी बनेर आयो । त्यस दिन बिहानै उनी बाख्रालाई डाले घाँस काट्न बारीको कान्ला छेउको रूख चढेकी थिइन् । टेकेको हाँगो भाँचियो, भुइँमा पछारिइन् । “उठ्न खोज्दा सकिनँ, डेढ घन्टापछि छोरो खोज्दै आइपुग्यो,” चन्द्रमाया भन्छिन्, “शुरूमा दोलखा अस्पताल गयौं, त्यहाँबाट काठमाडौं आयौं ।”

काठमाडौंमा केही दिन ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार गर्दा धेरै खर्च लाग्यो । त्यसपछि उनलाई २२ साउनमा काभ्रेको साँगास्थित स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रमा पुर्‍याइयो । अहिले पनि कम्मर मुनिको भाग राम्ररी चल्दैन । हिंडडुल गर्न सक्दिनन् । चिकित्सकले पहिलेकै अवस्थामा फर्किन नसक्ने बताइसकेका छन् ।

घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएकी दोलखाको भीमेश्वर नगरपालिकाकी ५५ वर्षीया चन्द्रमाया फुयाँल।

उपचारको क्रममा २० लाख रुपैयाँ खर्च भइसकेको छ । खेतीकिसानीबाट गुजारा चलाउँदै आएको विपन्न परिवार ठूलो खर्च र चन्द्रमायाको स्वास्थ्य अवस्थाका कारण नराम्ररी हल्लिएको छ । उपचारका लागि जग्गा धितो राखेर ऋण लिनेदेखि अरू सबै उपाय गर्‍यो चन्द्रमायाको परिवारले । भन्छिन्, “अहिले छोरीले घर सम्हालिदिएकी छे । सबैलाई दुःख भयो ।”

पुनस्र्थापना केन्द्रमा थेरापी लगायतका पद्धतिबाट उपचार गरेकी उनी घरमा गएर पनि त्यहीँ सिकाइएको पद्धतिबाट थेरापी गर्नेछिन् । उपचारले केही सहज त भएको छ तर, पुरानै दिनचर्यामा फर्कन कुनै ‘चमत्कार’ पर्खनुपर्नेछ । केही दिनअघि उनी पुनस्र्थापना केन्द्रबाट उपचार गरेर घर फर्किसकेकी छन् ।

घटना फरक भए पनि चन्द्रमायाकै जस्तो अवस्था छ गुल्मी, धुर्कोटकी ३७ वर्षीया हुमकला नेपालीको । हुमकला १२ फागुन २०७६ मा घर बनाउने ढुंगा बोक्दा दुर्घटनामा परेकी थिइन् । आर्थिक अवस्था कमजोर रहेकाले परिवारले उनलाई उपचारका लागि बाहिर लैजान सकेनन् । जिल्ला सदरमुकामसम्म पुर्‍याएर उपचार त भयो, तर राम्ररी निको भएन । त्यहीबेला कोरोना महामारी फैलिएपछि उनी घरमै थन्किइन् । ठीक भइहाल्ला भन्ने आशमा महीनौं बिते तर, ठीक भएन ।

“मेरुदण्ड र करङ दुवै भाँचिएको रहेछ । त्यतिबेला तम्घास अस्पतालमा अप्रेसन पनि भयो” साँगा, काभ्रेस्थित स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रमा उपचार गराउन आएकी हुमकला भन्छिन्, “भएको जग्गा जिल्लामा उपचार गर्दै बेच्नुपर्‍यो । त्यसपछि अरू उपाय नहुँदा दुई वर्षदेखि घरमै थन्किएकी थिएँ । यहाँ आएपछि अलि बिसेक भएको छ ।” तीन सन्तानकी आमा हुमकलालाई गुल्मीबाट साँगासम्म आइपुग्न पनि अरूले नै आर्थिक सहयोग गरे ।

त्यो दुर्घटनापछि उनको कम्मर मुनिको भाग चल्दैन । पुरानै अवस्थामा फर्कन असम्भवप्रायः छ । तैपनि उनको आश छ, “यहाँको उपचारले ह्वीलचेयरमा बस्न सक्नेसम्म भइन्छ कि भन्ने ।” पुनस्र्थापना केन्द्रमा झण्डै तीन महीनाको उपचारपछि उनी घर फर्किसकेकी छन् ।

सिन्धुलीको तीनपाटन गाउँपालिका, बेलघारीकी ४४ वर्षीया मधुकुमारी मगरातीको अवस्था पनि चन्द्रमाया र हुमकला भन्दा फरक छैन । गएको २७ भदौमा बाख्रालाई घाँस काट्न रूख चढेकी उनी समातेको हाँगा फुत्किएर कान्लामा पछारिएकी थिइन् । छिमेकीले आएर उद्धार गरे । उनलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याएर १० दिन उपचार गरियो । त्यसपछि ५ असोजमा स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रमा भर्ना गरियो ।

अहिले मधुकुमारीको कम्मर मुनिको भाग चल्दैन । केही सहज अनुभव भए पनि उनलाई पहिलेकै अवस्थामा फर्कन सकिएला भन्ने विश्वास छैन । घर छोराछोरीले सम्हालेका छन् । “अहिले आफैं लुगा लगाउने र शौचालयसम्म जान सक्ने भएकी छु”, उनी भन्छिन् । मगराती पनि करीब पाँच महीना लामो उपचार गरेर घर फर्किसकेकी छन् ।

महिलाले गर्ने काम :वर्षेनि जान्छ कैयौंको ज्यान

चन्द्रमाया, हुमकला र मधुकुमारी ती प्रतिनिधि पात्र हुन् जो समाजले ‘महिलाका लागि’ भनेर ‘निर्धारण’ गरिदिएका कामले दुर्घटनामा परे । यही विभेदले महिलाहरू दुर्घटनाको मात्र शिकार भइरहेका छैनन्, धेरैले अकालमै ज्यान गुमाइरहेका छन् । सरकारकै निकायहरूबाट प्राप्त आँकडा केलाउँदा यसको कहालीलाग्दो तस्वीर देखापर्छ ।

एउटा उदाहरण हेरौं । गत १० कात्तिकमा माटोको ढिस्कोले पुरिएर सिरहामा एक बालिकाको मृत्यु भयो । अरू पाँच जना घाइते भए । तिहारको बेला घर लिपपोत गर्ने माटो लिन गएकी धनगढीमाई नगरपालिका–५, जयपुरकी ११ वर्षीया करिश्माकुमारीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको थियो । ढिस्कोले पुरिंदा आठ वर्षीया ममतादेवी कामैत, सात वर्षीया सरिता महतो, सात वर्षकै सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र १० वर्षीया रुवि कामैत घाइते भए ।

रूखबाट लडेर घाइते भएकी मधुकुमारी मगराती र घर बनाउने ढुंगा बोक्ने क्रममा लडेर घाइते भएकी हुमकला नेपाली। 

माटोको ढिस्को खसेर पुरिने घटना सिरहामा मात्र होइन, तराई र भित्री मधेशका कैयौं जिल्लामा भइरहन्छन् । त्यसमा ज्यान गुमाउने वा घाइते हुनेहरू भने बालिका वा महिला मात्र हुन्छन् । जस्तो कि, २४ माघ २०७७ मा कैलालीको जानकी गाउँपालिका–९, पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको ज्यान गयो । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो ।

समाजले ‘महिलाका लागि’ निर्धारण गरिदिएको अर्को काम हो, घाँस काट्ने । अपवाद बाहेक यो काममा पुरुष संलग्न हुँदैनन् । २७ भदौ २०७८ मा बझाङको दुर्गाथली गाउँपालिका–३, मौलालीमा घाँस काट्दै गर्दा भीरबाट लडेर ६० वर्षीया गालुदेवी रावलको मृत्यु भयो । घर नजिकै रहेको सामुदायिक वनको भिरालो क्षेत्रमा घाँस काट्न गएकी उनी चिप्लिएर लडेकी थिइन् ।

५ असार २०७८ मा सुदूरपश्चिमकै अर्को पहाडी जिल्ला बैतडीमा भीरबाट लडेर पञ्चेश्वर गाउँपालिका–५ की २४ वर्षीया सुनिता पेलाको मृत्यु भयो । उनी पनि घर नजिकैको खरबारीमा घाँस काट्न गएकी थिइन् । लडेर गम्भीर घाइते उनलाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

नेपाल प्रहरीकी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंह भीरपाखा वा रूखबाट लडेर, माटोको ढिस्कोले पुरिएर वर्षेनि धेरै महिला दुर्घटनामा पर्ने गरेको त्यसक्रममा धेरैको ज्यान समेत गइरहेको बताउँछिन् । “घाँस–दाउरा र मेलापातको काम महिलाले मात्रै गर्नुपर्ने सोचाइका कारण उनीहरू दुर्घटनामा परिरहन्छन्” एसएसपी सिंह भन्छिन्, “ती काममा महिलालाई मात्र लगाइँदा उनीहरूको ज्यान जोखिममा छ ।”

खेती लगाउने र भित्र्याउने काममा पुरुषको सक्रिय सहभागिता भए पनि ग्रामीण कृषिकर्म र गुजारासँग जोडिएका अरू कैयौं कामलाई परिवारका मूलीदेखि समाजले अहिले पनि महिलाकै जिम्मा छाड्ने गरेका छन् । कैयौं यस्ता काम छन् जो स्वयं महिलाले नै सुरक्षित रूपमा गर्न सक्दैनन् वा जान्दैनन् । किनभने यस्ता काममा समाजको ‘बलियो वर्ग’ ले वास्ता नै गर्दैन । अर्थात् महिलालाई जानाजान जोखिममा धकेल्ने काम समाजबाटै भइरहेछ ।

समाजशास्त्री मीना उप्रेती जोखिमयुक्त काममा महिलालाई नै विना सावधानी पठाइँदा उनीहरू दुर्घटनामा पर्ने गरेको बताउँछिन् । “सामाजिक संरचनाले महिलाको कामलाई उनीहरूले नै गर्ने त हो नि भनेर जोखिम भए पनि लगाउने गरेको छ”, उनी भन्छिन् । भीरमा घाँस काट्न पठाउनेदेखि घर सिंगार्ने माटो ल्याउनेसम्मको जोखिमपूर्ण काममा लगाउने महिलालाई सुरक्षित कसरी हुने भनेर नसिकाउने ज्यानमारा काम भइरहेको उप्रेतीको भनाइ छ ।

कामले लियो ८ वर्षमा ५५५ महिलाको ज्यान : भवितव्य कि ‘हत्या’

गएको २२ पुसमा बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ की ५४ वर्षीया लीला विष्ट बाघको आक्रमणबाट मारिइन् । जलहन सामुदायिक वनमा घाँस काट्न गएकी लीला हराएपछि स्थानीय र प्रहरीले खोज्दै जाँदा बाघले मारिसकेको अवस्थामा फेला पारेका थिए । उनको शव बाघको पञ्जाबाट छुटाउन प्रहरीले हवाई फायर समेत गर्नुपर्‍यो ।

त्यसको दुई दिनअघि जंगलमा सालको पात टिप्न गएकी राप्ती सोनारी–४ कै दुर्गा थारूलाई पनि बाघले आक्रमण गरेको थियो । तर, आफूलाई झम्टिने बाघसँगको घम्साघम्सीमा उनी भाग्यमानी ठहरिइन् । “आठ–दश जना साथी मिलेर पात टिप्न गएका थियौं । बाघले कतिबेला आक्रमण गर्‍यो, पत्तै पाइनँ । मलाई झम्टेर ढलाइसकेछ” त्यो घटना सम्झँदै दुर्गाले भनिन्, “त्यत्रो हिम्मत कसरी आयो, थाहा छैन । तर, बेस्सरी चिच्याएर दायाँ हातमा रहेको हँसियाले हानेछु, त्यसपछि बाघ भाग्यो ।”

बाघको आक्रमणमा परेर ज्यान जोगाउन सफल भएकी बाँकेको राप्ती सोनारी गाउँपालिका-४ नयाँबस्तीकी ३० वर्षीया दुर्गा थारु। तस्वीर: हेमन्त चौधरी

बाघले उनको बायाँ हात आफ्नो पञ्जामा च्यापिसकेको थियो । दायाँ हातमा रहेको हँसिया भने दुर्गाको हातबाट छुटेको थिएन । बाघले घाँटी च्याप्न खोजेपछि उनले त्यही हँसियाले प्रहार गरेको बताइन् । दुर्गा भन्छिन्, “हँसियाले मुखमा प्रहार गरेपछि बाघ पञ्जा छाडेर पछि हट्यो । चिच्याएपछि अरू साथीहरू पनि आए । त्यसपछि बाघ भाग्यो, मेरो ज्यान बच्यो ।”

वन्यजन्तुको आक्रमणबाट वर्षेनि कैयौं महिलाले ज्यान गुमाउँछन् । त्योभन्दा ठूलो संख्यामा महिला अंगभंग हुन्छन् । वनजंगल पुगेर वन्यजन्तुसँग ज्यानकै पौंठेजोरी खेल्न बाध्य पार्ने काम महिलामाथि समाजले थोपर्दाको परिणाम कति भयावह छ भन्ने बुझ्न यसलाई अझ विस्तृत्वमा हेरौं ।

वन्यजन्तुको आक्रमणबाट १७३ महिलाको मृत्यु, ३१६ घाइते

के पहाड के तराई, बस्तुभाउलाई घाँस र खाना पकाउने दाउरा लिन, तरकारीदेखि अरू घरायसी प्रयोजनमा नभई नहुने निगुरो र पात टिप्न, पशुचौपाया चराउन ग्रामीण भेगमा वनजंगल नगई नहुने, नभई नहुने ठाउँ हो । केही अपवाद बाहेक यी कामहरू महिलाकै जिम्मा हुन्छन् । त्यही क्रममा उनीहरू वन्यजन्तुको आक्रमणमा पर्छन् ।

प्रहरी प्रधान कार्यालयको २०७० देखि २०७८ मंसीरसम्मको घटना विवरण केलाउँदा देशभर वन्यजन्तुको आक्रमणमा १७३ जना महिलाले ज्यान गुमाएका छन् । त्यसैगरी, ३१६ जना महिला घाइते भएका छन् । वन्यजन्तुको आक्रमणबाट मृत्यु र घाइते हुनेमा बालिका समेत छन् ।

यो आँकडा देशभरका प्रहरी कार्यालयमा दर्ता भएको विवरण मात्र हो । कैयौं घटना प्रहरी कार्यालयसम्म आइनपुग्ने हुँदा यो संख्या अझ धेरै हुनसक्ने प्रहरी अधिकृतहरू बताउँछन् ।

यही अवधिमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने पुरुषको संख्या १६३ छ । यो संख्या महिलाभन्दा थोरै भए पनि घाइते हुनेमा भने महिला भन्दा पुरुष केही बढी रहेको प्रहरीको आँकडाले देखाउँछ । प्रहरी प्रधान कार्यालयका अनुसार यस बीचमा ४०८ जना पुरुष वन्यजन्तुको आक्रमणबाट घाइते भए । तर, यो आँकडामा महिलाको अवस्था कहालीलाग्दो मानिनुको विशेष कारण छ ।

अधिकांश महिला वनजंगल वा त्यसको छेउछाउमा काम गर्ने क्रममा वन्यजन्तुको आक्रमणमा पर्छन् । कतिपय पुरुष पनि घाँस–दाउरा गर्ने क्रममा वन्यजन्तुको आक्रमणमा परेको देखिन्छ । तर, पुरुषको ठूलो संख्या घरायसी कामभन्दा सोखले, अझ कतिपय सन्दर्भमा त कानूनले वर्जित गरेका गतिविधि गर्न वनजंगल पुग्दा आक्रमणमा पर्ने गर्छन् । तीमध्ये केही हुन्– वन्यजन्तुको शिकार, काठ तस्करी आदि प्रयोजनका लागि वनजंगल पुग्नु । आँकडा विश्लेषण गर्दा देखिन्छ, महिला बाध्यताले नगरी नहुने काम गर्ने क्रममा वन्यजन्तुको आक्रमणमा पर्छन् भने धेरैजसो पुरुष भने गर्न नहुने काम गर्ने क्रममा ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ गत वर्ष वन कार्यालयको कार्यक्षेत्रमा ७ र निकुञ्जको कार्यक्षेत्रमा ९ समेत गरेर वन्यजन्तुको आक्रमणबाट १६ जनाको मृत्यु भएको बताउँछन् । यीमध्ये ४ जना हात्ती र १२ जना बाघको आक्रमणमा परेका थिए । “सीधै हेर्दा पनि जोखिममा बढी महिला नै देखिन्छन् । तर, घटनाको प्रकृति हेर्दा महिला–पुरुषको उस्तै देखिन्छ” श्रेष्ठ भन्छन्, “महिलाहरू बढीजसो घाँस–दाउरा लिन, निगुरो टिप्न गएका बेला आक्रमणमा परेका छन् ।”

आर्थिक वर्ष २०७६/७७ मा बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका ६ मध्ये चार जना महिला थिए । यसले पनि महिलामाथि रहेको जोखिमको तस्वीर दर्शाउँछ ।

चितवन राष्ट्रिय निकुञ्जका एक अधिकृत पनि घाँस–दाउरा लिन र निगुरो टिप्न जाने महिला बढीजसो वन्यजन्तुको आक्रमणमा परेको बताउँछन् । तर, बर्दिया राष्ट्रिय निकुञ्ज बाहेक अरू कुनै पनि निकुञ्ज र आरक्षले वन्यजन्तुको आक्रमणमा पर्ने महिला र पुरुषको संख्या नै छुट्याएर राखेको भेटिएन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकाल घाँस–दाउरा लिन जाँदा नै धेरैजसो महिला वन्यजन्तुको आक्रमणमा पर्ने गरेको बताउँछन् । “महिला नै बढीजसो घाँस, दाउरा लिन जाने हुँदा उनीहरू नै आक्रमणमा पर्छन्” ढकाल भन्छन्, “यस्ता धेरैजसो घटना निकुञ्ज क्षेत्रभित्र वा आसपासमा हुन्छन् । सुरक्षाका दृष्टिले हेर्दा महिलाहरू वन्यजन्तु आएपछि पुरुष जस्तै भाग्न नसक्ने भएकाले पनि आक्रमणमा पर्छन् ।”

माटोमा पुरिएर ८२ महिलाको मृत्यु, १२३ घाइते

अधिकांश नेपालीको दैनिकी र गुजारा माटोसँग अन्योन्याश्रित छ । जनसंख्याको ठूलो हिस्सा कृषिमै आश्रित रहेकाले माटो विनाको जीवन परिकल्पना नै गर्न सकिन्न । त्यसमाथि ग्रामीण भेगका अधिकांश आवास (घर) माटोबाटै बनेकाले तिनलाई ‘मेन्टेन’ गर्न माटोले लिपपोत गरिरहनुपर्छ । लिपपोत ग्रामीण परिवेशमा धार्मिक मान्यतासँग पनि जोडिन्छ । यस्तो लिपपोतका लागि आवश्यक माटो ल्याउने काम गाउँठाउँमा ‘महिलाकै काम’ हो । त्यहीकारण माटो लिन नजिकैका वनजंगल र ढिस्काहरूमा पुग्ने महिला र बालिका माटो खन्दा ढिस्को खसेर हुने दुर्घटनामा पर्छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ७ वर्षमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर वा ढिस्को खसेको ढुंगाले लागेर ८२ जना महिलाको मृत्यु भएको छ । १२३ महिला घाइते भएका छन् । घाइतेमध्ये कतिपयको  त अंगभंग भएको छ । यो प्रहरी कार्यालयको जानकारीमा आएका घटनाको आँकडा मात्र भएकाले यस्तो संख्या अझ धेरै हुन सक्छ । यो अवधिमा ढिस्कोले पुरिएर ४५ पुरुषको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । पुरुषहरू भने सडक, सिंचाइ, जलविद्युत् आयोजना आदिमा मजदूरी गर्ने क्रममा माटोले पुरिने गरेको देखिन्छ ।

भीरबाट लडेर १५२ महिलाको मृत्यु, ६२ घाइते

घाँस काट्न जाँदा होस् या दाउरा लिन, महिलाको अर्को जोखिम हो– अप्ठेरा भीरपाखासँग पौंठेजोरी खेल्नु । पहाडी र हिमाली भेगमा घाँस–दाउराका लागि भीरपाखा छिचोल्नुको विकल्प छैन । त्यहीक्रममा उनीहरू दुर्घटनामा पर्छन् । घाँस–दाउरा गर्ने क्रममा भीरबाट लडेर वर्षेनि कैयौं महिलाको ज्यान जान्छ ।

नेपाल प्रहरीले राखेकै तथ्यांक केलाउँदा पछिल्लो ८ वर्षमा भीरबाट लडेर १५२ महिलाको मृत्यु भएको छ । अरू ६२ जना महिला घाइते भएका छन् । भीरबाट लडेका अधिकांश महिला घरायसी कामकै लागि भीरपाखामा पुगेकाहरू छन् ।

यो अवधिमा भीरबाट लडेर २३४ पुरुषको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने लडेर मृत्यु वा घाइते भएका अधिकांश पुरुष दुर्घटनामा पर्नुको कारण भने फरक छ । उनीहरू गाउँघरतिर घुम्न गएको बेला वा अन्य कुनै कामले शहरबाट फर्किरहेको अवस्थामा लडेको प्रहरीकै आँकडाले देखाउँछ । त्यसमध्ये कतिपय मदिरा सेवन गरेर हिंडिरहेका बेला लडेर मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ ।

रूखबाट खसेर ६९ महिलाको मृत्यु, ६८ घाइते

ग्रामीण समाजमा बस्तुभाउ (पशु चौपाया)लाई घाँस जोहो गर्न सजिलो छैन । घाँसकै लागि बारीका डिलदेखि वनजंगलसम्म पुगेर रूख चढ्नुपर्ने हुन्छ । घाँस काट्ने क्रममा रूखबाट लडेर पछिल्लो ८ वर्षमा ६९ महिलाको मृत्यु भएको छ । ६८ जना घाइते भएका छन् । यही अवधिमा रूखबाट लडेर १४२ पुरुषको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन् । पुरुषको यो संख्या घरमा पालिएका पशु चौपायाका लागि घाँस–दाउरा काट्ने क्रमदेखि काठ–दाउरा संकलन र कटान गर्ने क्रममा भएको देखिन्छ ।

काभ्रेको साँगास्थित स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रका मेडिकल डाइरेक्टर, स्पाइनल विशेषज्ञ राजु ढकाल केन्द्रमा उपचारका लागि आउने अधिकांश महिला घाँस काट्न जाँदा रूखबाट लडेर, भीरबाट चिप्लेर वा माटो लिन जाँदा दुर्घटनामा परेकाहरू रहेको बताउँछन् । यो केन्द्र स्पाइनल (मेरुदण्ड) इञ्जुरी भएर आउने बिरामीको उपचार गर्ने नेपालको एक मात्र केन्द्र हो । केन्द्रका अनुसार प्रत्येक वर्ष करीब ३०० व्यक्ति उपचारका लागि आउँछन् । तीमध्ये करीब ३० प्रतिशत महिला हुन्छन् ।

पुनस्र्थापना केन्द्रमा पछिल्लो तीन वर्षमा दुर्घटनामा परेर घाइते भएका २०५ जनाले उपचार गराएका छन् । तीमध्ये ११ जना बालिका छन् । पुनस्र्थापना केन्द्रका सामुदायिक पुनस्र्थापना संयोजक प्रज्ज्वल घिमिरे ९० प्रतिशत महिला र बालिका  भीर, कान्लाबाट लडेर, घर पोत्ने माटो लिने क्रममा ढिस्कोमा पुरिएर, रूखबाट खसेर घाइते हुनेहरू रहेको बताउँछन् ।

“पुरुषहरू सडक दुर्घटनामा परेर घाइते भई आउँछन्, महिलाहरू घरायसी काम गर्दा दुर्घटनामा परेर आउने गरेका छन्” उनले भने, “पुनस्र्थापना चिकित्सामा आइसकेपछि उहाँहरूको अवस्थाको जाँच गरेर त्यसै अनुसार उपचार गर्छौं ।”

सर्पदंशबाट ७९ महिलाको मृत्यु, २२६ घाइते

महिलामाथि कामको विभेदले निम्त्याएका जोखिमका क्षेत्र अझ धेरै छन् । एउटा उदाहरण हो, सर्पदंशको खतरा । प्रहरी प्रधान कार्यालयले एकत्रित गरेको देशभरका घटनाको विवरण केलाउने क्रममा हामीले पछिल्लो २०७६ देखि २०७८ मंसीरसम्ममा सर्पदंशबाट ७९ जना महिलाको मृत्यु भएको आँकडा पनि भेट्टायौं ।

त्यस्तै, २२६ महिला सर्पले टोकेर घाइते भएका रहेछन् । तर, यो संख्या अझ धेरै हुनसक्ने आकलन गर्न सकिन्छ । यही अवधिमा सर्पदंशबाट ७३ पुरुषको मृत्यु भएको छ भने २९० जना घाइते भएका छन् । यो विवरण २०७६ देखिको मात्रै भएकाले कम देखिएको हो । घर लिपपोत गर्ने माटो लिन जाने, घाँस–दाउरा गर्ने क्रममा धेरै महिला सर्पदंशको शिकार हुँदा रहेछन् ।

मर्नेभन्दा बाँच्नेलाई झन् कठिन

विभेदयुक्त कामले जोखिममा रहेका महिलाको कामकै कारण ज्यान गइरहेकै छ, अंगभंग भएर बाँच्नेहरूको जीवन अझ कहालीलाग्दो छ । जो घाइते र अंगभंग बने, उनीहरूको जीवन गुजाराको चक्र खल्बलिएको छ । पौरखी हात चल्न छाड्दा अरूकै सहारामा बाँच्नुपर्ने भएको छ । अनि उनीहरूले आफ्नै घर र समाजले दिने थप पीडा पनि भोग्नुपरेको छ ।

“घाइते र अंगभंग भएपछि महिलाको औषधि उपचार र हेरचाहमा पनि बेवास्ता हुँदोरहेछ” समाजशास्त्री मीना उप्रेती भन्छिन्, “कतिसम्म भने, कुनै बुहारी ह्वीलचेयरको सहारामा हिंडडुल गर्नुपर्ने भयो भने छोरालाई अर्को बिहे गरिदिएर ती महिलालाई थप पीडा दिने काम पनि हुँदोरहेछ ।”

पुरुष दुर्घटनामा पर्दा जति परिवार र समाजले चासो दिन्छ, त्यति महिलाले जोखिमयुक्त काम गर्दा दुर्घटनामा घाइते भएमा त्यसलाई महत्व नदिने गरिएको उनी बताउँछिन् ।

कामको विभेदले बढाएको जोखिम

पछिल्लो समय नेपाली महिलाको जीवनस्तरमा ठूलो बदलाव आएको चर्चा हुने गर्छ । त्यसलाई अथ्र्याउने कतिपय देखिने गरिका परिवर्तन र सूचक पनि छन् । जस्तो कि सम्पत्ति, अझ त्यसमा जग्गाजमीन र घरमा महिलाको स्वामित्व बढेको छ । कतिपय कानून र सरकारका नीतिले पनि महिलाको सम्पत्तिमाथिको स्वामित्व बढाएका छन् । यी कुराले पुरुष मात्र हावी समाजमा ‘घर सम्हाल्ने’ महिलाको संख्या पनि बढिरहेछ ।

योसँगै ग्रामीण समाजमा ‘घर सम्हाल्ने’ महिलाको कामकाज र व्यस्तता समेत बढेको छ । अहिले ग्रामीण समाजका धेरै पुरुष वैदेशिक रोजगारका क्रममा विदेश वा कामको खोजीमा शहर पसेका छन् । यसले गर्दा पुरुषले गर्ने जोखिमपूर्ण थप काम पनि महिलाको काँधमा आइपुगेका छन् ।

नेपाल प्रहरीकी एसएसपी दुर्गा सिंह भन्छिन्, “घरको काम सम्हालेका महिला ६ घन्टा पनि राम्रोसँग सुत्न पाउँदैनन् । अत्यधिक श्रम र पोषणयुक्त खानाको अभावमा महिलाको शरीर यसै पनि कमजोर भएको हुन्छ ।” यहीकारण महिलालाई जोखिमयुक्त काममा नलगाउन, दुर्घटना कम गर्नका लागि व्यक्ति, परिवार र समाज नै सचेत हुनुपर्ने उनको सुझाव छ । भन्छिन्, “कुनै निश्चित काम महिलाले मात्रै वा पुरुषले मात्रै गर्नुपर्छ भन्ने आग्रह त्याग्नुपर्छ । पुरुषको समान सहभागिता नहुँदासम्म यो अवस्था सुध्रिंदैन ।”

घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भई स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेकी सिन्धुलीकी मधुकुमारी मगराती स्वयं यसबारे भलिभाँती जानकार छिन् । घाँस, दाउरा र घरको काम महिलाकै हो भन्ने सोचाइका कारण महिलाहरू बढी दुर्घटनामा पर्ने गरेको उनको निचोड छ । “घरको काममा सहयोग गर्ने पुरुष पनि छन् तर, त्यो संख्या निकै कम होला” उनी भन्छिन्, “महिला दुर्घटनामा परेका अधिकांश घटनाको जरोसम्म पुग्ने हो लैंगिक विभेद नै प्रमुख कारण देखिन्छ ।” तर, आफैं आधा नचल्ने शरीरसँग बाँचिरहेकी मधुकुमारीको कथा–व्यथाले भन्छ, सबथोक जान्दाजान्दै पनि समाजले सोच्ने तरिका नफेरिएसम्म यो जोखिम कम हुँदैन ।

समाजशास्त्री उप्रेतीका अनुसार महिलालाई समाजले ‘तोकेको’ काम मासिक तलब आउने जस्तो प्रत्यक्ष अर्थोपार्जनसँग जोडिन्न । त्यसैले जति नै धेरै काम गरे पनि उनीहरूको कामलाई काम नै नठान्ने मानसिकता समाजमा अद्यापि व्याप्त छ । काम गरेवापत सीधै नगद हातमा नपर्ने हुँदा उनीहरूले दुर्घटनामा पर्दा उचित उपचार र हेरचाह पनि पाउँदैनन् । महिलाले काम बढी गर्नुपर्ने तर, आराम भने नमिल्ने गरेकाले शारीरिक र मानसिक रूपमा थप समस्या भोगिरहेको उनको निचोड छ ।

घरदैलोकै सरकारलाई थाहा छैन, अरूको के कुरा

२०७२ सालमा संविधान जारी हुँदै गर्दा सम्भवतः सबभन्दा धेरै चर्चा भएको र आमरूपमा पनि धेरैलाई उत्साहित बनाएको विषय थियो, संविधानले नागरिकलाई घरदैलोमै दिएको शक्तिशाली सरकार । यही कारण पनि स्थानीय सरकारहरूलाई नागरिकका यावत् समस्यासँग साक्षात्कार भइरहने घरदैलोको सरकार भनिएको हो ।

खासमा दूरदराजको अवस्थालाई इंगित गरेर पनि स्थानीय सरकारलाई यस्तो उपमा दिइएको थियो । तर, काममै भइरहेको विभेदले धेरै महिलाले ज्यान गुमाइरहँदा, अनि त्योभन्दा ठूलो संख्याका महिलाको अंगभंग हुँदा बेपरवाह र चुपचाप देखिने स्थानीय सरकारको अवस्था हेर्दा ‘घरदैलोको सरकार’को अनुभूति नै हुँदैन ।

अरू त अरू, ‘माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महिलाको मृत्यु’ शीर्षकका समाचार आइरहँदा त्यहींका वडा र पालिका सरकार सुरक्षित तरिकाबाट माटो झिकिदिने पहलसम्म गर्दैनन् । स्थानीय सरकारले गर्ने साना निर्णयले पनि महिलाका लागि कहर बनेको यो अवस्था सुधार्न ठूलो मद्दत गर्न सक्छ । तर पनि उनीहरू यसमा किन बेपरवाह बनिरहेछन् ?

हामीले माटोको ढिस्कोले महिलाहरू पुरिने घटना पटक–पटक दोहोरिइरहने कैलालीको गौरीगंगा नगरपालिका उपप्रमुख अञ्चला चौधरीलाई यही प्रश्न गर्‍यौं। चौधरीले स्थानीय तहले यो विषयमा ध्यान पुर्‍याउन नसकेको स्वीकार गरिन् । “यो विषयमा हाम्रो ध्यान नपुगेको हो” उनी भन्छिन्, “प्रहरीले घटनाको मुुचुल्का गरिसकेपछि राहत सहयोगसम्मको काम हुन्छ, त्यसबाहेक घटना न्यूनीकरणका लागि हामीले आवश्यक पहल गर्न सकेनौं । आफ्नै नगरक्षेत्रमा भएका यस्ता घटनाको अभिलेखीकरणसम्म पनि हुन सकेन ।”

सिरहाको धनगढीमाई नगरपालिका उपप्रमुख फूलकुमारी श्रेष्ठ पनि यस्ता घटनाका विषयमा स्थानीय तहले कुनै कार्यक्रम बनाउन नसकेको स्वीकार्छिन् । घटनाका पीडितलाई सामान्य सहयोग दिने बाहेक नगरपालिकाबाट अरू काम नभएको उनले बताइन् ।

एसएसपी दुर्गा सिंह ‘भवितव्य’ जस्ता घटना देखिए पनि यसको जरो समाजले गरिरहेका अभ्याससँग जोडिएकाले नियन्त्रणका लागि स्थानीय सरकारले नै अग्रसरता लिनुपर्ने बताउँछिन् । समाजशास्त्री मीना उप्रेतीको भनाइ छ, “महिलाका लागि अहिले चाहिने भनेकै स्थानीय सरकार हो । तर, घर नजिकको यो सरकार महिला अनुकूल हुनै सकेन । महिलासँग स्रोत–साधन नभएर निरीह बन्नु पनि यो समस्याको कारण हो । त्यो काम स्थानीय सरकारले नै गर्न सक्छन् ।” खोज पत्रकारिता केन्द्रबाट

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...