आधा बढी सक्रिय संक्रमित उपत्यकामै : काठमाडौंमा मात्रै १४४९ जनामा कोरोना पुष्टि

Kathmandu valley

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै सङ्क्रमण दैनिक बढिरहेको हो । ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पीसीआर र एन्टिजेन परीक्षणमा सङ्क्रमण दर बढेको पाइएको हो ।

खासगरी केही दिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट नै बनेको छ । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले सङ्क्रमण बढिरहेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ जना रहेका छन् । हाल देशभर १४ हजार ३४० जना कुल सक्रिय संक्रमित रहेका छन् । यस हिसावले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३९६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा १०५, पर्सामा ५१, चितवनमा ६६, कास्कीमा १३१, रुपन्देहीमा ६५, सुर्खेतमा १८ र कैलालीमा ५३ जनामा संक्रमण पुष्टि भएको छ । हाल ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा उपत्यकाका ३ जिल्लासहित कास्की र मोरङ समेत रहेका छन् ।

यस्तै २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलाली छन् भने मुगु जिल्लाचाहिँ संक्रमणमुक्त रहेको छ ।

 

प्रतिकृया दिनुहोस