थप १ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि, भित्र–भित्रै फैलिएको आशंका

Omikron corona

काठमाडौं । काठमाडौँ– नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ९८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले संक्रमित व्यक्ति होम आइसोलेशनमा रहेको जानकारी दिइन् । उनले कन्ट्याक्टट्रेसिङ पनि भइसकेको बताइन् । यो सँगै नेपालमा ओमिक्रोन संक्रमणको तेस्रो केस पुष्टि भएको हो ।

तेस्रो संक्रमित भेटिएसँगै ओमिक्रोनको संक्रमण फैलिसकेको त छैन भन्ने प्रश्न उब्जिएको छ । प्रर्याप्त मात्रामा परीक्षण नहुँदा ओमिक्रोन भेरियन्ट फैलिएको छ कि छैन भनेर यकिन गर्न गाह्रो भएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार काठमाडौं उपत्यकाबाट परीक्षणका लागि आएका अधिकांश पोजेटिभ नुमनाको ‘एस जीन’ स्क्रीनिङ गर्ने गरिएको छ । त्यसक्रममा तीन वटामा ‘एस जीन’ नेगेटिभ देखिएको थियो ।

जिन सिक्वेन्सिङका क्रममा ‘एस जीन’ नेगेटिभका तीन नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । तर उपत्यका बाहिरका ल्याबहरुमा परीक्षण गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि निकै कम आउने गरेको छ । जबकी ओमिक्रोन भित्रिने सबभन्दा बढी खतरा नेपाल–भारत सीमा नाका भएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

तर भारतबाट आउने मानिसको एन्टिजेन परीक्षण मात्र हुन्छ, जसले ओमिक्रोन भेरियन्ट पत्ता लगाउन सक्दैन । डा. पुन भन्छन्, ‘भारतबाट आउने मानिसहरुको पीसीआर परीक्षण गरी ‘एस जीन’ छुट्याउन सके ओमिक्रोन पत्ता लगाउन सकिन्छ । नाकामा परीक्षण नहुँदा संक्रमण फैलिने सम्भावना हुन्छ ।’

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी पनि ओमिक्रोन भेरियन्ट देखिएका भारतका राज्यहरुबाट आएका सबैको परीक्षण गर्नुपर्नेमा जोड दिन्छन् । त्यसो नहुँदा समुदायसम्म संक्रमण पुगिसकेको हुनसक्ने भन्दै उनी भन्छन्, ‘हामीले सक्रिय निगरानी गरेका छैनौं, यसले ओमिक्रोन भेरियन्ट पहिचान हुन सकेको छैन ।’

यसअघि भारतमा डेल्टा भेरियन्टबाट संक्रमित भेटिएको ४६ दिनपछि नेपालमा पनि देखिएको थियो । ओमिक्रोन भने भारत र नेपालमा सँगसँगैजस्तो देखिएको छ । भारतमा हालसम्म २१३ जना संक्रमितमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस