पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

Corona 1596087688 1597680755

काठमाडौं । पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर ५६३५ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी संख्यामा सक्रिय संक्रमित छन् ।

२ सयदेखि ४९९ सक्रिय संक्रमित हुने जिल्ला ५ वटा छन् । सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा २ सयदेखि माथि र ४९९ भन्दा कम सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार धेरै जिल्लाहरुमा १ देखि २ सयभित्र सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस