आयातको ग्राफ उकालो लाग्दा व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि

Truck 1

काठमाडौं । निरन्तर आयातको ग्राफ उकालो लाग्दा व्यापार घाटा चुलिँदै गएको छ । चालु आर्थिक वर्षको ३ महिनामा गत वर्षको तुलनामा व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्ब बराबर व्यापार घाटा भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा ५ खर्ब ४३ अर्ब बराबरको वैदेशिक व्यापार हुँदा व्यापार घाटामा ६८ प्रतिशतले वृद्धि भई ४ खर्ब १३ अर्बमा पुगेको हो ।

विभागको तथ्यांकअनुसार यस अवधीमा ४ खर्ब ७८ अर्बको वस्तु आयात हुँदा ६५ अर्ब ५२ करोडको मात्रै वस्तु निर्यात भएको छ । गत वर्ष असोज मसान्तसम्म २ खर्ब ९२ अर्ब बराबरको वस्तु आयात हुँदा ३१ अर्ब ४६ करोड बराबरको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा निर्यातमा ६३ प्रतिशतले सुधार भएर ६५ अर्ब ५२ करोडको निर्यात हुँदा आयातमा १ सय ९ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब बराबरको वस्तु भित्रिएको छ । यस अवधीमा पेट्रोलियम पदार्थ, मेसिनरी सामग्री, औषधीजन्य र सवारी आयातमा वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

असोज मसान्तसम्ममा ६० अर्ब ५० करोडका पेट्रोलियम पदार्थ आयात हुँदा ४१ अर्ब ९३ करोडको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ । यसैगरी ३७ अर्ब ७४ करोड रकम बराबरको विद्युतीय सामग्री आयात हुँदा ३५ अर्ब १० करोडको मेसिन तथा ३३ अर्ब ३८ करोडको सवारी साधन आयात भएको छ ।

असोज मसान्तसम्ममा ११ अर्ब ४८ करोड रकम बराबरको औषधीजन्य उत्पादन आयात भएको भन्सार विभागले जनाएको छ । असोज मसान्तसम्ममा सबैभन्दा बढी व्यापार घाटा भारतसँग २ खर्ब ३४ अर्ब रहेको छ भने दोस्रोमा चीनसँगको व्यापार घाटा ६६ अर्ब ९८ करोड पुगेको छ ।
 

प्रतिकृया दिनुहोस