दूरसञ्चार उपकरण र पूर्वाधार विकासमै बाहिरियो १६ अर्ब

Dursanchar 6

काठमाडौं । पछिल्लो समय मुलुकमा भित्रिएको सूचनाप्रविधिको तीव्र विकाससँगै दूरसञ्चार उपकरण आयात र पूर्वाधार विकास विस्तारमा झन्डै १६ अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा दूरसञ्चार उपकरण आयात तथा पूर्वाधार विकास विस्तारको नाममा यति धेरै नेपाली रुपैयाँ बिदेसिएको हो । गत आर्थिक वर्षमा सूचना प्रविधिको सहज पहुँच विस्तारका लागि आवश्यक उपकरण खरिद तथा आयातमा मात्र विभिन्न सेवाप्रदायक कम्पनीले कुल १५ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ विभिन्न मुलुकमा पठाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले तथ्यांक औंल्याएको हो । सो अवधिमा विभिन्न दूरसञ्चार उपकरण, ब्यान्डविथ, प्राविधिक परामर्शलगायतका विविध शीर्षकमा नेपाल दूरसञ्चार प्राधिकरणले सो रकम विदेशी मुद्रा भुक्तानीका लागि वाणिज्य बैंक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सिफारिस गरेको छ ।

जसअन्तर्गत सो अवधिमा ३ अर्ब ३३ करोड ५९ लाख २८ हजार रुपैयाँको उपकरण भित्रिएको छ । त्यसमा सेवा प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको ४७.०१ प्रतिशत, कन्स्टेलेसन प्रालिको ०.०९ प्रतिशत र क्लासिक टेकको ०.०७ प्रतिशत रहेको छ ।

यसैगरी, कुल विदेशी मुद्रामा एनसेलले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ४२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल खर्च भएको रकमको ४८.११ प्रतिशत हो । त्यसैगरी, दोस्रोमा वल्र्डलिंक कम्युनिकेसनले १ अर्ब ६६ करोड ५ लाख ५ हजार रुपैयाँको उपकरण, प्रविधि भिœयाएको छ । नेपाल टेलिकमले भने समग्रमा २.३४ प्रतिशत रकम मात्र बाहिर पठाएको देखिएको प्राधिकरणले जनाएको छ । जसअनुसार १६ करोड, ६३ लाख ५ हजार रुपैयाँ बाहिरिएको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा विभिन्न १३ वटा टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले आवश्यक उपकरण, ब्यान्डविथ प्रविधि तथा परामर्शमा यति धेरै विदेशी मुद्रा खर्चिएका हुन् । अझै यीबाहेकका कम्पनीले विभिन्न समयमा खरिद गरी ल्याएका तथा विभिन्न देशका दातृ निकाएले उपलब्ध गराएको अनुदान सहयोगबाट भित्र्याइएका दूरसञ्चार उपकरण र पूर्वाधार विकासका साधन तथा प्राविधिकको तथ्यांक प्रतिवेदनमा समावेश नभएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले यस्ता छुटपुट भएका कम्पनीको खर्चलाई पनि जोड्ने हो भने दूरसञ्चार उपकरण र पूर्वाधार विकास विस्तारको नाममा हरेक वर्ष नेपालबाट अर्बाैं रुपैयाँ बाहिरिने बताएका छन् ।

सम्बन्धित सरोकारवालाका अनुसार दूरसञ्चार उपकरणको आयात बढ्दा नेपालमा धेरै भित्रिने वस्तुको सूचीमध्ये यो सातौं स्थानमा रहेको छ । त्यस्तै कुल आयातमा दूरसञ्चार उपकरणको हिस्सा २.४ प्रतिशत देखिएको छ ।

दूरसञ्चार सेवा प्रदायकले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई तीव्रता दिँदा पनि यस्ता उपकरणको आयात बढेको हो । यसैगरी, देशैभर ब्रोडब्यान्ड विस्तार र सूचना महामार्ग निर्माणको काम समेत जारी रहँदा यससँग सम्बन्धित उपकरण आयात बढेको देखिन्छ । यस्ता सूचना महामार्ग निर्माण तथा विस्तारका अभियानसँगै कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयसम्म गरिएको लकडाउन र निषेधाज्ञाको समयमा समग्र मुलुकको दूरसञ्चार सेवाको खपत बढ्दा क्षमता विस्तारका लागि समेत दूरसञ्चार उपकरण तथा पार्टपूर्जाको आयात बढेको हो ।

नेपाल राष्ट्र बैंकले पनि गत आवको सोही अवधिमा दूरसञ्चार क्षेत्रमा प्रयोग हुने उपकरण तथा पार्टपुर्जाको आयातमा उल्लेखनीय वृद्धि भएको बताएको छ । यो समाचार राजधानी दैनिक छ ।

प्रतिकृया दिनुहोस