तेस्रो लहरको त्रास ; पुग्दो छ त अक्सिजन ?

Oxizan 20

काठमाडौं । कोरोना संक्रमण फेरि बढिरहँदा प्रदेश १ का अस्पतालहरूमा धमाधम अक्सिजन प्लान्ट निर्माण भइरहेका छन्। ६ जिल्लाका अस्पतालमा प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु भइसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अन्य आठ जिल्ला अस्पतालमा प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ।

सूचना अधिकारी षणानन्द भट्टराई झापाको मेची अस्पतालसहित पाँचथर, भोजपुर, संखुवासभा, उदयपुर र धनकुटा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भइसकेको बताउँछन् । प्रदेश सरकारले प्रत्येक अस्पताललाई १ करोड ५० लाखका दरले बजेट छुट्याएको थियो ।

संघीय सरकारका तर्फबाट पनि अस्पतालहरूमा धमाधम प्लान्ट निर्माण भइरहेको भट्टराई बताउँछन् । ‘कतै प्लान्ट निर्माण भइसके, कतै अन्तिम चरणमा रहेकाले अक्सिजनमा कुनै पनि अलमल छैन’, उनी भन्छन्।

झापामा ठूलो अक्सिजन प्लान्ट नभएकाले त्यसको व्यवस्थापनमा जुट्न स्थानीय तह र अस्पतालहरूलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना बताउँछन् ।

भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा दैनिक ३५ सिलिन्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलको भनाइ छ । ‘यो प्लान्टले मेची अस्पतालको अहिलेको मागको २५ प्रतिशत मात्रै धान्छ’, अध्यक्ष पोर्तेल भन्छन्, ‘अरू विकल्पको खोजी हुँदैछ।’

सरकारले मेची अस्पतालमा दैनिक १ सय ५० सिलिन्डर क्षमताको प्लान्ट स्थापना गर्न ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो। तर, समयमा काम हुन नसक्दा त्यो बजेट फिर्ता गएको छ। मेडिकल एसोसिएसनले १ सय १५ सिलिन्डर क्षमताको प्लान्ट जडान गरिदिने आश्वासन दिएको छ ।

साउनभित्रै त्यसको काम सुरु हुने अध्यक्ष पोर्तेलको भनाइ छ। बिर्तामोडस्थित बीएन्डसी अस्पतालले दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ। त्यसले आन्तरिक माग पनि धान्न नसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउँछन्।

कनकाई नगरपालिकामा २ करोड खर्चिएर दैनिक सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाइएको छ। ‘एकका लागि एक अभियान’ले पनि अक्सिजन बैंक खोलेको छ ।

अक्सिजन अभाव देखिएपछि अक्सिजन बैंक स्थापना गरिएको संयोजक महेन्द्रकुमार गिरीको भनाइ छ। १ करोड ६५ लाख रुपैयाँ संकलन भएको जनाइएको छ। पहिलो चरणमा चीनबाट ४० लिटर क्षमताका ५ सयवटा सिलिन्डर ल्याएर अक्सिजन बैंक स्थापना गरिएको हो ।

सुनसरी र मोरङका उद्योगले अक्सिजन उत्पादन गर्छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जडान गरिएको प्लान्टबाट प्रतिमिनेट १ हजार ६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको सहायक निर्देशक डा. प्रमोद बरालको भनाइ छ। प्लान्ट बिग्रिए ‘लिक्विड अक्सिजन ट्यांक’मार्फत बिरामीलाई सेवा दिइने डा. बराल बताउँछन् ।

सुनसरीको सोनापुरमा विनायक, खनारमा पाथीभरा र दुर्गा अक्सिजन उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल तीन उद्योगबाट दैनिक २ हजार ५ सय सिलिन्डर भर्न सकिने बताउँछन्।

विराटनगरको कोसी अस्पतालले पनि दैनिक सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास प्लान्ट सञ्चालनमा ल्याउनासाथ ५० प्रतिशत बिरामीलाई सहज हुने बताउँछन् । अपुग अक्सिजन बाहिरबाट मागिने उनको भनाइ छ।

मोरङमा मारुती र हिमाल उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। दुई अक्सिजन प्लान्टबाट दैनिक १ हजार ५ सय सिलिन्डर अक्सिजन उत्पादन हुने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन्। निरौलाका अनुसार सबै अस्पताललाई बिरामीको चापका आधारमा वितरण गर्ने गरिएको छ।

कोसी अस्पताल कोभिड–१९ केन्द्रका प्रमुख वैजनाथ साह भने यसअघि महामारी उत्कर्षमा पुग्दा माग गरेजति अक्सिजन नपाइएको बताउँछन् । दैनिक संक्रमित बढिरहेका कारण आपतकालीन समयमा समस्या हुन नदिन अक्सिजन तयारी अवस्थामा राख्नुपर्ने साहको भनाइ छ ।

महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दा अक्सिजन अभावका कारण प्रदेश २ का अस्पतालहरूमा बिरामीलाई भर्ना नलिने र अधिकांशलाई रेफर गर्नुपर्ने बाध्यता थियो। तर, सम्भावित तेस्रो लहरमा अक्सिजन अभाव पहिलेजस्तो नहुने प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादव बताउँछन्।

दोस्रो लहरका बेला प्रादेशिक अस्पताल जनकपुरको कोभिड वार्डमा प्रत्येक दिन सय सिलिन्डर खपत हुन्थ्यो। तर, आपूर्ति कहिले ३० त कहिले ४० मात्रै हुँदा उपचारमा समस्या आएको थियो। अवस्था सामान्य हुँदै गएपछि ३ सय सिलिन्डर तयारी अवस्थामा राखिएको यादवको भनाइ छ ।

‘हामीसँग ३ सय सिलिन्डर छन्, जसमध्ये ५० वटा प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा पठाएका छौं। बाँकी सबै हामीसँग छन्’, उनी भन्छन्, ‘हामीसँग अक्सिजन प्लान्ट मेसिन पनि उपलब्ध छ । त्यसको सञ्चालनका लागि सम्पूर्ण बन्दोबस्त पूरा गर्न तदारुकताका साथ काम भइरहेको छ।’ प्लान्ट प्रत्येक दिन डेढ सय सिलिन्डरसम्म भर्न सक्ने क्षमताको रहेको उनको भनाइ छ । यो समाचार अन्नपूर्ण पोष्टमा छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...