छुवाछूतलाई प्रशय दिने शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई गल्ती नगर्न प्रधानमन्त्रीको चेतावनी

Kp krihsna gopal

काठमाडौं । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको चौतर्फी आलोचनासहित बर्खास्त गर्न माग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।

जातीय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन् ।

कानुनमन्त्रीले एकातर्फ छुवाछुत हटाउन कानुन बनाउने, अर्कोतर्फ कार्यान्वयन नगर्ने व्यवहार ठीक नहुने भन्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको बताए । सम्बन्धित मन्त्रीले समेत गल्ती महसुस गरेको उनले बताए । छुवाछुतलाई अन्य गर्ने राज्यले घोषणा गरिसकेको र यसका लागि आवश्यक ऐन, नियमावलीसमेत बनेर कार्यान्वयनमा लैजाने चरणमा रहेको उनको भनाई छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठले ठीक नगरेको भन्दै ध्यानाकर्षण गराएको बताए ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई यस विषयमा हिजो पनि सचेत गराउनुभएको छ, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै मन्त्री श्रेष्ठले भने, ‘मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो काम जुन तपाईले गर्नुभयो, त्यो ठिक भएन भन्नुभएको छ। यसमा प्रधानमन्त्री स्वयंको पनि ध्यानाकर्षण भएको छ ।’

कानुन कार्यान्यन गर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाटै कानुन उल्लंघन हुनु दुर्भाग्य भएको उनले बताए । ‘मन्त्रीले आफ्नै गाडीमा चढाएर लैजानु भनेको दुर्भाग्य हो, उनले भने, ‘हाम्रो क्याबिनेट मिनिस्टरले गरेको गल्तीलाई हामीले स्वीकार्नुपर्छ ।’

संञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस