शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने प्रचण्डको उद्घोष

Pushpakamal dahal

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै नेपाली राजनीतिमा अर्काे तरंग आएको छ । नेपाली कांग्रेसको सो निर्णयसँगै धरापमा परेको केपी शर्मा ओली नेतृत्वको सरकार फेर्न आतुर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताइसकेका छन् ।

शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आज ४ बजेबाट घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् । प्रचण्डले मुलुकको राजनीतिले कोल्टे फेरेको बताएका छन् ।

‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फेर्यो, काँग्रेसको निर्णयपछि । अब छिट्टै अब नयाँ सरकार बन्छ’ प्रचण्डले भने, ‘अब जसरी पनि ओलीको सरकार ढल्छ, कसैले जोगाएर जोगिदैन ।’

प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) ले मधेस विरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे । जसपाका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि कांग्रेसको निर्णयको स्वागत गर्दै नयाँ सरकार गठन हुनुपर्ने बताइसकेका छन् ।

प्रतिकृया दिनुहोस