एमालेको संसदीय दलको बैठकमा पुगे बामदेव गौतम, नेपाल–खनाल समुहद्धारा बहिष्कार

Uml baithak baluwatar

काठमाडौं । सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । आजको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र पुनः स्थापित नेकपा एमालेको दुवै पक्षका बैठक भेलामा सहभागी नभएका गौगत पहिलो पटक आज दलको बैठकमा सहभागी भएका हुन् ।

गौतम पत्नी तुलसा भने यसअघि नै संसदीय दलको बैठकमा भाग लिइसकेकी छन् । दलको बैठक लगत्तै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि गौतम सहभागी हुने भएका छन् ।

झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने दुवै बैठक बहिष्कार गरेको छ । ओलीले यसअघि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल–खनाल समूह गएको थिएन । ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् ।

उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ । यस्तै २८ फागुनमा ‘विधान उल्लंघन गर्दै भएको निर्णय’ खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने नेपाल समूहको निर्णय छ ।

‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने’ बानेश्वर बैठकको निर्णयमा भनिएको छ ।

सर्वोच्च अदालतको फैसालाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको थियो । नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिकृया दिनुहोस