संसदीय दलको बैठक बहिष्कार गर्ने खनाल नेपाल पनि संसदीय बोर्ड सदस्यमा मनोनित

Jhalanath khanal and madhav kumar nepal

काठमाडौैँ । नेकपा एमाले केपी ओली समूहको संसदीय दलको बैठकले २४ सदस्यीय एमाले बोर्ड गठन गरेको छ। बोर्डमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाल खनाललाई पनि मनोनित गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलको बैठकले संसदीय दलका नेता केपी ओलीको संयोजकत्वमा झलनाथ खनाल र माधव नेपालसहित २४ सदस्यीय बोर्ड गठन गरेको हो।

बोर्डमा संसदीय दलका नेता प्रधानमन्त्री केपी ओली, दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य छन् भने यसबाहेक झलनाथ खनाल, माधव नेपाल, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दमोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा , शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राना, मोहन बानियाँ, भुपेन्द्र थापा, खेम लोहोनी, सरिता न्यौपाने र विमला विक रहेका छन्।

नेकपा एमालेका संसदीय दलका नेताका हिसाबले झलनाथ र माधवलाई चयन गरेको ओली नेतृत्वको नेकपाले जनाएको छ। यस्तै आजको बैठकले नेकपा एमालेको संसदीय दलको विधान संशोधन गर्नका लागि संशोधन कमिटी गठन समेत गरिएको छ। प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल राई सदस्य रहेको तीन सदस्यीय संशोधन कमिटी बनेको छ। 

यो कमिटीले चैत्र ७ गतेको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरेर पेश गर्नेछ।

प्रतिकृया दिनुहोस