ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको नेता नेपालको दाबी

Madhav nepal

काठमाडौँ ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको दाबी गरेका छन् ।

आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको बताए ।

ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको पनि नेता नेपालले बताए । ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन’ उनले भने ।

ओलीले आलोचना र सुझाव नसुन्ने, पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको भन्दै नेता नेपालले भने ‘जबजको नारा लगाएर निरंकुश प्रवृत्ति देखाउनुभयो, आफ्नो गल्तीको दोष सधैंभरी अरुलाई थोपर्नुभयो ।’

ओली सधैं पूर्वाग्रही रहेको र असहमतलाई पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए ।

‘उहाँले प्रधानमन्त्रीको कुर्सी बचाउन संविधानको अपब्याख्या गर्नुभयो, पार्टी निर्णय र सहमति भएका भन्दा विपरीत काम गर्नुभयो’ नेता नेपालले भने ।
 

प्रतिकृया दिनुहोस