चीनले थप ३ लाख डोज कोरोना भ्याक्सिन अनुदान दिने

Corona vacin

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।

यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए । माघ २३ गते नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोनमा वार्ता गर्दै वाङले उक्त प्रतिबद्धता गरेका थिए ।

सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ । चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ ।

चिनियाँ राजदूतावासले उक्त भ्याक्सिन नेपाललाई छिटोभन्दा छिटो ल्याउनको लागि पहल गर्ने जनाएको छ । पाललाई सबैभन्दा पहिले भारतले उसको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर कोभिसिल्ड भ्याक्सिन विकास गरेको भ्याक्सिन सहयोग गरेको थियो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’ नाममा उत्पादन गरेको हो ।

नेपालले अनुदान बाहेक आफैंले पनि भ्याक्सिन खरिद गरेर ल्याइसकेको छ । नेपालले भारतबाट २० लाख डोज भ्याक्सिन खरिद गरेको छ । नेपालले भारतसँग खरिद गरेर ल्याएको पहिलो लटको भ्याक्सिन ल्याएर लगाउन थालिसकेको छ ।

प्रतिकृया दिनुहोस