सुवास नेम्वाङ भन्छन्, प्रतिनिधिसभा पुनर्स्थापनापछि ओली त हिजोभन्दा झन् दह्रो पो हुनुभयो

Suwash nembang

काठमाडौं । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि केपी ओली नेतृत्वको सरकार झन बलियो भएको बताएका छन् ।

उनु भएको छ । ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्च गरेको कार्यक्रममा नेम्वाङले संविधानसभा विघटनपछि कामचलाउ बनेको ओली सरकार पुनर्थापनापछि झन बलियो भएको बताए ।

प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणीसमेत उनले गरे । प्रतिनिधिसभा भंग गरेर जनतामा जाने प्रधानमन्त्री ओलीको निर्णय लोकतन्त्रसम्मत भएको उनले जिकिर गरे ।

‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के(के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो’ उनले भने, ‘संसद् पुनःस्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईंहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेम्वाङले बताए ।

उनले प्रतिनिधि सभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गरेको समेत बताए । तर अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि उनले बताए ।

उनले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे ।

‘हामीले भनिराखेका छौं । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं’, उनले भने ।

नेकपा ओली पक्षका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले राजनीतिक दललाई निर्देशन जारी गरेको नभइ फैसला मात्र गरेको भन्दै यसले पार्टीभित्र कुनै असर नपर्ने बताएका छन् ।

कार्यक्रममा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका कार्य समिति सदस्यहरुलाई सथप ग्रहण गराइएको थियो ।

प्रतिकृया दिनुहोस