कांग्रेसले नेकपा औपचारिक रुपमै विभाजन नभएसम्म सहकार्य नगर्ने

Congresh baithak deuwa niwas

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो । संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

नेकपाका दाहाल–नेपाल समूह र ओली समूहले भेट्न खोज्यो भने दुवै पक्षसँग भेट्ने, छलफल गर्ने तर अहिले नै कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष ननिकाल्ने विषयमा एकमत भएको बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले बताए ।

नेता सिटौलाले भने, ’कांग्रेसले हतार गरेर निर्णय गर्नु काम छैन । संसद् पुनःस्थापनापछि नेकपा एक छ । उनीहरुको विवाद कसरी टुंगिन्छ । त्यसपछि हाम्रो भूमिका क्लियर गर्छौं ।’

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ सत्ता समीकरण बनाउने खेल सुरु हुँदै छ ।

नेकपा दाहाल–नेपाल समूहले संसद् बैठक सुरु भएपछि प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई पदच्यूत गराउने बाटो खोजिरहेको छ भने ओलीले आफू प्रधानमन्त्रीमा निरन्तरताका लागि वा आफ्नो पक्षले सरकार सञ्चालनको प्रयास गर्ने कसरतमा देखिएका छन् ।

दाहाल–नेपाल समूहले भने कांग्रेस, जसपालगायत दलसँग सत्ता समिकरणका लागि संवाद समेत थालिसकेका छन् ।

प्रतिकृया दिनुहोस