प्रधानमन्त्री ओली निकटका नेता भन्छन्, ‘फैसला अनपेक्षित भयो, प्रधानमन्त्रीको राजीनामा आउँदैन’

Kp oli

काठमाडौं । सरकार पक्षीय नेताहरुले सर्वाेच्च अदालतको फैसलापछि पनि देशले निकास नपाउने टिप्पणी गरेका छन् । उनीहरुले सर्वोच्च अदालतको फैसलाप्रति असमति जनाए पनि मान्ने प्रतिक्रिया दिएका छन् ।

परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको टिप्पणी गरे । ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको पनि बताए । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए ।

‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने ज्ञवालीले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाले राजनीतिक समस्या समाधान नगर्ने बताए । नेकपा ओली समूहका नेता समेत रहेका नेता रिमालले संसद पुनस्र्थापना सम्बन्धी फैसला भने मान्ने बताउनु भयो । नेकपा ओली समूहकै नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि मुलुक राजनीतिक अस्थिरतातर्फ जाने सम्भावना बढेको दावी गर्नु भएको छ । संसद् पुनस्र्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ ।

सर्वोच्च अदालतले आज साँझ प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे धेरैले आँकलन गरेका थिए । विभिन्न सत्तारुढ तथा सत्ता बाहिरका दल तथा नेताहरूले समेत प्रधानमन्त्रीको राजीनामा आउने बताए पनि उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

मंगलबार राति १० बजे थापाले फेसबुकमार्फत लेख्दै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भए पनि कार्यान्वयन गर्नुपर्ने तर प्रधानमन्त्रीको राजीनामा नआउने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

प्रतिकृया दिनुहोस