चौतर्फी दवावपछि साढे ५ घण्टामै रामकुमारी झाँक्री रिहा

उनी भन्छिन्, राष्ट्रपति भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप छैन

Ramkumari jhakri

काठमाडौं । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार बिहान पक्राउ गरेको थियो ।

उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी थिइन् ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरे । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका हुन् ।

रिहा भएलगत्तै झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको प्रतिक्रिया दिएकी छन् । उनले अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने प्रतिवद्धता जनाइन् ।

‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं’ झाँक्रीले भनिन्, ’संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन ।’

‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन्’, उनले भनिन्, ‘संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।’

प्रतिकृया दिनुहोस