ओलीको प्रचण्डलाई प्रश्न, शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकन चिल्ली खाने भनेको हो ?

Kp sharma oli 23

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि पुष्पकमल दाहालले ‘अब मांशाहारी आन्दोलन आवश्यक छ’ भनेर दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

अब देशमा नरभक्षी आन्दोलनको कल्पना नगर्न चेतावनी दिँदै प्रधानमन्त्री ओलीले देशमा अशान्ति मच्चाउने प्रयास अब सैह्य नहुने बताए । अहिले प्रचण्ड–माधव समूह मांसाहारी आन्दालनको पक्षपोषण गर्दै हिँडेकोमा उनले आपत्ति जनाए ।

‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो’, शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘नरभंक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन ।’

ओलीले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको दावी गरे । उनले जनताको भेल उर्लिएको दावी पनि गरे । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’

सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी छ ।

दाहाल–नेपालको आन्दोलनतर्फ व्यङ्ग्य गर्दै ओलीले भने, ‘काठमाडौंमा आमसभा गर्न ठाँउ भएन । अरुलाई जहाँ छाने पनि सानो हुन्छ । हामीलाई जहाँ छाने पनि सानो हुन्छ । काठमाडौंको सबैभन्दा धेरै अट्ने ठाँउ खोज्दा पनि सानो भयो, जता हेरे पनि खाँदाखाँद छ ।’

‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ’, ओलीले भने, ‘इन्सुरेन्सलाई क्षतिपूर्ति दिन लगाउँछौँ भएन भने गरिबलाई हेर्ने सरकार छ । गरिबलाई माया गर्ने सरकार छ ।’

 

प्रतिकृया दिनुहोस