नेकपा प्रचण्ड–माधव समूहको आमहड्ताल : ठाउँठाउँमा आगजनी, नेता जति उत्रिए सडकमा

Nekapa banda 22

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा अबैधानिक तरिकाले ढंगले नियुक्ती गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ ।

लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रका भित्री बाटोमा गाडी चलेका छन् ।त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ ।

काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल आफैं सडकमा निस्किएका छन् । छोरी रणु दाहालसहित सातदोबाटो, पुल्चोक लगायतका क्षेत्रमा पुगेर उनले सम्बोधन गरेका छन् ।

रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रचण्ड–माधव समूहको संघर्ष समिति संयोजकसमेत रहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।

धरानमा झडप
यता बन्दमा क्रममा प्रदेश नं. १ को धरानमा झडप भएको छ । धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो ।

धरानमा लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात चलिरहेका छन् । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

धनकुटामा पनि बन्दको प्रभाव परेको छ । बन्दकर्ताहरुले विहानैदेखि बजार बन्द गर्न आग्रह गरिरहेका छन् । उनीहरुले एक दिनका लागि विद्यालय बन्द गराउन आग्रह गरेपछि धेरैजसो विद्यालय बन्द भएका छन् ।

बजार बन्द गराउन आग्रह गरिएको र आफ्नो आग्रहलाई बजारबासीले सहजै स्वीकार गरेको नेकपा धनकुटामा सचिवालय सदस्य हेमचन्द्र किराँती बताउँछन् । लामो तथा छोटो दुरीका सवारी साधन भने चलेका छैनन् ।

मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको छ । बन्दकर्ताले इलाममा ट्रकलाई ढुंगा हानेका छन् । बिराटनगरमा बिहानैदेखि बन्दकर्ता समुहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् ।

पोखरा प्रचण्ड–माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल ¥याली निकालेका छन् ।

बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चितवनमा चार ट्रकमा तोडफोड गरेका छन् । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको छ । ठाउँठाउँमा प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता निस्किएका छन् । यात्रा गर्न चाहनेले सुरक्षा माग स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।

बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैनन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।

कर्णालीमा खोल्ने र बन्द गराउनेको त्रास
सुदूरपश्चिमका जिल्लाहरुमा सदरमुकाम र प्रमुख राजमार्गमा बन्दको प्रभाव देखिएको छ । भित्री सडकखण्ड र ग्रामिण भेगमा प्रभाव देखिएको छैन ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा सवारीसाधन चलेका छैनन् । प्रचण्ड माधव समूहका नेता कार्यकर्ता बन्द गराउन आग्रह गर्दै हिडेका छन् भने ओली समूहका नेता, कार्यकर्ताहरु खुला गर्न माग गरिरहेका छन् ।

सुर्खेतमा पसलहरु खुलेका छैनन् । प्रहरीले विभिन्न ठाउँमा डाइभर्सन गराएर लामो दूरीको यातायात सञ्चालन गराइरहेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्त बताउँछन् ।

प्रतिकृया दिनुहोस