कमल थापा भन्छन्, राजसंस्था पुनःस्थापना गर्न टाउकोमा कफन बाँधेर सडकमा आयौँ

Kamal thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाका लागि भन्दैमा शुक्रबार काठमाडौंमा विशाल र्‍याली निकालेको छ ।

सो विरोध र्‍यालीपछिको विरोधसभामा अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र स्थापना गरेरै छाड्ने दावी गरेका छन् । अध्यक्ष थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न सकिने तर्क सारेका छन् ।

अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । ‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला उनले भने, ‘अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।’

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाले बताए । केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबा हवाइजहाज चार्टर गरेर केही मानिसहरु आएको बताए ।

थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताए । उनले यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर टाउकोमा कफन बाँधेर सडकमा आएको ठोकुवा गरे ।

संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताए ।

प्रतिकृया दिनुहोस