यूकेमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउन ईयूद्वारा सदस्य राष्ट्रहरूलाई आग्रह

Uk

एजेन्सी । युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेमाथि उनीहरूले लगाएको यात्रा प्रतिबन्ध हटाउन सिफारिस गरेको ।

ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो। सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता चाहिँ छैन ।

सीमा नियन्त्रणसम्बन्धी आ–आफ्ना नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन् । यसअघि सप्ताहान्ततिर फ्रान्सले यूकेसँग जोडिएका सिमाना बन्द गर्दा दुई देशबीच सामान ओसारपसार गर्ने हजारौँ लरीहरू अलपत्र परे ।

लगभग ईयूका सबै २७ सदस्य राष्ट्रले यूकेबाट हुने यात्रामा अहिले प्रतिबन्ध लगाएका छन् । साझा नीति अवलम्बन गर्ने प्रयासमा ईयूको आकस्मिक बैठकहरू बस्दै आएका छन् ।

कोभिड–१९ को परीक्षण गराउने वा फर्केर एकान्तवासमा जाने प्रतिबद्धता जनाउने नागरिकलाई आ–आफ्नो देश फर्कन दिन ईयूका सदस्य राष्ट्रलाई युरोपेली आयोगले एउटा वक्तव्यमार्फत् सिफारिस गरेको छ । यद्यपि अत्यावश्यक नपरेको अवस्थामा गरिने यात्राहरूलाई निरुत्साहित गर्नुपर्नेमा उसले जोड दिएको छ।

ईयूभित्र यातायात क्षेत्रमा काम गर्ने लरी चालकजस्ता मानिसको हकमा यात्रा प्रतिबन्ध र अनिवार्य परीक्षणको व्यवस्था गर्न नहुने आयोगको भनाइ छ । यूकेबाट फ्रान्स र ईयूका अरू सदस्य राष्ट्र जानका लागि चाहिँ कोरोनाभाइरस परीक्षण गराएको हुनुपर्ने उसको भनाइ छ ।

प्रतिकृया दिनुहोस