ओली विहिन नेकपाको स्थायी समिति बैठकको यस्तो छ निर्णय

Cpnलभधक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको अर्को बैठक २८ गते बस्ने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि छलफल गर्न आइतबार बैठक बसेको थियो । बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, पत्र जुहारी वितरण गरिएको थियो । त्यसलाई अध्ययन गर्नको लागि अर्को बैठक २८ गते बस्ने भएको हो ।

नेकपाको ४४ जना स्थायी समिति सदस्य र पाँच जना आमन्त्रित समेत गरी ४९ जना सदस्य छन् । आइतबारको बैठकमा ४५ जना उपस्थित थिए । तर आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएनन् ।

ओलीले स्थायी समिति बैठकको औचित्य नभएको भन्दै सो बैठकलाई ‘रत्यौली’ को संज्ञा दिएका छन् भने सचिवालय बैठकमार्फत नै समस्याको हल खोजिनुपर्नेमा जोड दिँदै आएका छन् ।

शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए ।

आजको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिए । बैठकमा सहभागी नभएका ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको उनले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राखेका थिए ।

ओलीको असन्तुष्टिका बीच बैठकमा ओली र प्रचण्डको यसअघिको दुबै प्रस्ताव पेश भएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको छ । अर्को बैठक २८ गतेका लागि बोलाइएको र यसअघि नै तय भएको मंसिर २५ को केन्द्रीय समिति बैठक पुस ५ गतेका लागि सारिएको पनि श्रेष्ठले जानकारी दिए । बैठकमा प्रचण्डले पार्टीभित्र देखिएको समस्याका सन्दर्भमा केन्द्रीत रहेर बैठकलाई ब्रिफिङ समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस