उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी

Accident new

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो ।

आर्थिक वर्ष २०७५–७६ मा सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएको थियो भने २४१ जना घाइते भएका थिए । आव २०७६–७७ मा भएको सवारी दुर्घटनामा १५२ ले ज्यान गुमाएका थिए भने ८५ जना घाइते भएका थिए । चालू आवको अहिलेसम्म भने सवारी साधन दुर्घटनाबाट ५० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष १० हजार सवारी साधन दुर्घटना भएकामा यो वर्षको अहिलेसम्म दुई हजार ६०० दुर्घटना भएको जनाइएको छ ।

हालै सरुवा भएका महाशाखाप्रमुख भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनमा विभिन्न कार्यक्रम अपनाइएको र सडक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले दुर्घटनामा कमी आएको जिकिर गरे । यसका साथै कोभिड–१९ का कारण सवारी सञ्चालन नहुँदा पनि दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।

महाशाखाले दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसंँग निरन्तर समन्वय गरी नयाँ नयाँ योजना सञ्चालन गरेको आज जारी गरिएको एक सूचनामा जनाइएको छ । प्रविधिको प्रयोग गरिएको, तीव्र गति र लापरबाहीका साथ चलाउने, ओभरलोड बोक्ने, झल्लर र थप फोकस लाइट हाल्नेलाई कारबाही गरिएको, टिप्पर चलाउने समय निर्धारण गरिएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको उनको भनाइ छ ।

महाशाखाले यो बीचमा ४१० वटा अनावश्यक झालर र स्टिकर हटाएको, सात हजार बढी सवारीको ढालाक पछाडि अनिवार्य नम्बर प्लेट राखिएको, ४३५ फोकस बत्ती हटाइएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा दुर्घटना हुने गरेकाले त्यसलाई समेत हटाएको प्रहरीले जनाएको छ ।

यस्तै कारबाही अभियानलाई समेत तीव्र पारिएको महाशाखाले जनाएको छ । उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यवस्थित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी नियम कार्यान्वयनतर्फ चार लाख ४२ हजार ४६६ वटा सवारी साधनलाई कारबाही गरी २८ करोड ७१ लख ७७ हजार जरिवाना गरी राजश्व सङ्कलन गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न ‘हरेक दिन, एक अभियान’ तथा विशेष कारवाही अभियानमार्फत दैनिक सवारीको नम्बर प्लेट स्पष्ट नभएको र चर्को आवाज बनाई मोटरसाइकल चलाउनेलाई समेत कारबाही गरिएको छ । जथाभावी पार्किङ गर्ने, ढोका खुल्ला राख्ने, मोटरसाइकलको लुकिङ ग्लास ठीक अवस्थामा नराख्नेलाई समेत कारबाही गरिएको छ । यस्तै ठगी गर्ने आठ हजार ७०४ ट्याक्सी चालकलाई कारबाही गरी स्विप अपरेसनसमेत चलाएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस